हेटौँडा- फिफा विश्वकप–२०२६ को अवसर पारेर हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयले ‘फ्यान फुटबल प्रतियोगिता’ आयोजना गरेको छ ।
पिप्ले–क्याम्पा रंगशालामा असार १४ गतेदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. निमेष निखिलको अध्यक्षतामा भएको थियो। कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–५ का वडाध्यक्ष सुशील घिमिरे प्रमुख अतिथि थिए ।
उद्घाटन समारोहमा विद्यालय सञ्चालक समितिका अध्यक्ष ऋषिराम पोखरेल, शिक्षक–अभिभावक संघका अध्यक्ष प्रकाश बानियाँ, प्रधानाध्यापक ईश्वरप्रसाद लामिछाने, सहायक प्रधानाध्यापक तथा अतिरिक्त क्रियाकलाप संयोजक दीपक गौतमलगायत शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी रहेको सिनियरतर्फ पोर्चुगल ‘ए’ र ‘बी’, अर्जेन्टिना ‘ए’ र ‘बी’ तथा ब्राजिल गरी पाँच टोली सहभागी छन्। कक्षा ६ र ७ का विद्यार्थी सहभागी रहेको जुनियरतर्फ पनि पोर्चुगल ‘ए’ र ‘बी’, अर्जेन्टिना ‘ए’ र ‘बी’ तथा ब्राजिल ‘ए’ गरी पाँच टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
नकआउट प्रणालीमा भइरहेको प्रतियोगिताको जुनियरतर्फ पोर्चुगल ‘ए’ ले अर्जेन्टिनालाई तथा ब्राजिलले पोर्चुगल ‘बी’ लाई पराजित गर्दै फाइनलमा स्थान बनाएका छन् ।
सिनियरतर्फ अर्जेन्टिना ‘ए’ ले पोर्चुगल ‘ए’ लाई तथा पोर्चुगल ‘बी’ ले अर्जेन्टिना ‘बी’ लाई हराउँदै सेमिफाइनल प्रवेश गरेका थिए। त्यसपछि ब्राजिलले अर्जेन्टिना ‘ए’ लाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। अब सिनियरतर्फको उपाधिका लागि पोर्चुगल ‘बी’ र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको फाइनल खेल असार २१ गते बिहान पिप्ले–क्याम्पा खेल मैदानमा हुने सहायक प्रधानाध्यापक तथा अतिरिक्त क्रियाकलाप संयोजक दीपक गौतमले जानकारी दिए।

