हेटौँडा- फिफा विश्वकप–२०२६ को अवसर पारेर ज्ञानदीप शिक्षा (जी.एस.) निकेतन माध्यमिक विद्यालयले आयोजना गरेको फ्यान फुटबल प्रतियोगितामा सिनियरतर्फ ब्राजिल र जुनियरतर्फ पोर्चुगल च्याम्पियन बनेका छन् ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशाला मा सम्पन्न सिनियर फाइनलमा ब्राजिलले पोर्चुगललाई १०–० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि जित्यो । यस्तै, जुनियरतर्फको फाइनलमा पोर्चुगलले ब्राजिललाई ४–० ले हराउँदै च्याम्पियन बन्न सफल भयो ।
विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा प्रत्येक खेलका म्यान अफ द म्याचसँगै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्डर तथा उत्कृष्ट गोलकर्ता पनि ट्रफीसहित सम्मानित भएका थिए ।
असार १४ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको समापन समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. निमेष निखिलको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका–५ का वडाध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
समारोहमा विद्यालय सञ्चालक समितिका अध्यक्ष ऋषिराम उपाध्याय पोखरेल, उपाध्यक्ष राजेश घिमिरे, कोषाध्यक्ष मोहनप्रसाद न्यौपाने, पूर्वअध्यक्ष पिताम्बर बास्तोला, प्रिन्सिपल ईश्वरप्रसाद लामिछाने लगायतको उपस्थिति थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक तथा अतिरिक्त क्रियाकलाप संयोजक दीपक गौतमले विश्वभर महोत्सवका रूपमा मनाइने विश्वकप फुटबलको माहोललाई विद्यालयसम्म विस्तार गर्दै विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले फ्यान फुटबल प्रतियोगिता आयोजना गरिएको बताए ।

