Search
Close this search box.

समाजशास्त्रका स्नातकोत्तर विद्यार्थीलाई शोधप्रस्ताव लेखन तालिम


हेटौँडा– मकवानपुर बहुमुखी क्याम्पसले समाजशास्त्र स्नातकोत्तर तहका विद्यार्थीको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने शोधप्रस्ताव लेखन कार्यशाला सम्पन्न गरेको छ ।
हेटौँडा उपमहानगरपालिका–२ स्थित क्याम्पसको सेमिनार हलमा शनिबार र आइतबार सञ्चालन भएको कार्यशालामा समाजशास्त्र स्नातकोत्तर तहका विभिन्न सेमेस्टरमा अध्ययनरत २८ जना विद्यार्थी तथा पूर्वविद्यार्थी सहभागी भएका थिए ।

कार्यशालामा त्रिभुवन विश्वविद्यालयको सामाजिक कार्य विभागका निवर्तमान विभागीय प्रमुख तथा सहप्राध्यापक डा. शुक्रराज अधिकारीले सहजीकरण गरेका थिए । उनले अनुसन्धानका लागि उपयुक्त शीर्षक छनोट, अध्ययनको ढाँचा निर्माण, साहित्य समीक्षा, अनुसन्धानको ग्याप पहिचान, तथ्याङ्क सङ्कलन तथा विश्लेषण, प्रतिवेदन लेखन र निष्कर्ष प्रस्तुतिसम्मका विषयमा व्यावहारिक प्रशिक्षण दिएका थिए ।

क्याम्पस प्रमुख सहप्राध्यापक डा. यमबहादुर सिलवालले अनुसन्धानमुखी अध्ययनलाई प्रवर्द्धन गर्न यस्ता कार्यशाला प्रभावकारी हुने बताए। विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा पनि अनुसन्धान तथा शैक्षिक गतिविधिलाई प्राथमिकता दिइने बताए। उद्घाटन कार्यक्रममा सहायक क्याम्पस प्रमुख सहप्राध्यापक संगम चौलागाईंले पनि विद्यार्थीलाई अनुसन्धान र शैक्षिक गतिविधिमा सक्रिय हुन आग्रह गरेका थिए।

कार्यक्रममा स्नातकोत्तर समाजशास्त्र विभागका कार्यक्रम संयोजक सहप्राध्यापक केशव तिमल्सिना, उपप्राध्यापक द्रोण बुढाथोकी, निवर्तमान सहायक क्याम्पस प्रमुख सहप्राध्यापक रामेश्वर बराल तथा उपप्राध्यापक भाष्करचन्द्र अधिकारीले अध्ययन र अनुसन्धानमा निरन्तर लाग्न विद्यार्थीलाई प्रेरित गरेका थिए ।

सहभागी विद्यार्थी इन्द्रकला थोकर र विश्वास ढोडारीले कार्यशालाले अनुसन्धानप्रतिको अन्योल हटाउँदै शीर्षक छनोटदेखि शोधप्रस्तावको प्रारूप तयार पार्नेसम्म आत्मविश्वास बढाएको बताए। अन्य सहभागीले पनि अनुसन्धान शीर्षक छनोट, साहित्य खोजी तथा उद्देश्य निर्माणमा आफूहरू सक्षम भएको अनुभव सुनाएका थिए।

कार्यशालाका क्रममा विद्यार्थी सुर्ती लामा र खेम विकले आफूहरूले तयार पारेका शोधप्रस्तावको मस्यौदा प्रस्तुत गरेका थिए। प्रस्तुतिमाथि प्रशिक्षक डा. अधिकारी र सहभागीले सुझाव दिँदै शोधप्रस्तावलाई थप परिष्कृत बनाउन आवश्यक मार्गदर्शन गरेका थिए ।

कार्यक्रममा क्याम्पसका पूर्वविद्यार्थी तथा नेपाल खुला विश्वविद्यालयमा एमफिल अध्ययनरत अनिल पराजुली, अमितकुमार कर्ण र केशव समर्पण सुवेदीले पनि अनुसन्धानका आफ्ना अनुभव साझा गर्दै समाजशास्त्र अध्ययनलाई थप अनुसन्धानमुखी र सिर्जनशील बनाउन विद्यार्थीलाई सुझाव दिएका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan