Search
Close this search box.

नवसर्जक मासिक शृङ्खलामा अनुज्ञा र समर्पणको संयुक्त कविता वाचन

हेटौँडा– नवसर्जक साहित्य चौतारी नेपालको ४४औँ ‘नवसर्जक मासिक शृङ्खला’ अन्तर्गत युवा कवि अनुज्ञा नेपाल र समर्पण न्यौपानेको संयुक्त कविता वाचन तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

चौतारीकी अध्यक्ष कृतिका लौडारीको अध्यक्षता तथा अग्रज साहित्यकार डा. निमेष निखिलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भक्तपुरकी कवि अनुज्ञा नेपाल र मकवानपुरका कवि समर्पण न्यौपानेले आफ्ना पाँच–पाँच वटा कविता वाचन गरेका थिए ।

अनुज्ञाले ‘म हुँ सिर्जना’, ‘म र मेरो माटो’, ‘चरा’, ‘म बन्छु लिम्पियाधुरा’ र ‘देशै जलेको दिन’ शीर्षकका छन्द कविता प्रस्तुत गरिन्। समर्पणले ‘नानीहरू ब्युँझने समय’, ‘प्रकृति : निर्विकल्प’, ‘यात्रीप्रति’, ‘चम्किला सपनाहरूको नाममा’ र ‘भत्कनलाई मान्छेहरू’ शीर्षकका गद्य कविता सुनाएका थिए ।

वाचित कवितामाथि कवि पुरुषोत्तम आचार्य र सुवास खनालले समीक्षा प्रस्तुत गरेका थिए । समीक्षकद्वयले दुवै कविमा नेपाली कविता क्षेत्रमा उल्लेखनीय सम्भावना रहेको टिप्पणी गरे ।
कार्यक्रममा चौतारीका संरक्षक तथा परिकल्पनाकार दीपक गौतमले कविद्वयको साहित्यिक यात्राबारे प्रकाश पारेका थिए। कवि तुलसी घिमिरे र प्रमुख अतिथि डा. निमेष निखिलले युवा पुस्ताका सिर्जनशील कविलाई एउटै मञ्चमा प्रस्तुत गरेको भन्दै आयोजक संस्थाको प्रशंसा गरेका थिए।
कार्यक्रममा अग्रज साहित्यकार हयग्रीव आचार्य, जनार्दन खनाल, सल्लाहकारहरू रमेशमोहन अधिकारी, विष्णु न्यौपाने, राजकुमार लामिछाने, प्रभा पौडेल, साहित्यसेवी मुक्तिगोविन्द वैद्य तथा साहित्यकारहरू सानुबाबु खनाल, सञ्जित श्रेष्ठ, सागर तिमल्सिना, सुवास सजल, मसान उपासक, अजर फुयाँललगायत करिब चार दर्जन साहित्यकर्मीको उपस्थिति रहेको थियो।
चौतारीकी महासचिव स्वस्तिका दाहालका अनुसार २५ वर्षमुनिका नवसर्जकहरूको नेतृत्वमा सञ्चालित संस्थाले सोही उमेर समूहका दुई सशक्त स्रष्टालाई एउटै मञ्चमा उभ्याएर कार्यक्रम आयोजना गरेको हो। अनुज्ञाका ‘हामी गर्न सक्छौँ’ र ‘उज्यालोको खोजीमा’ कविता सङ्ग्रह प्रकाशित छन् भने समर्पणको ‘अभियुक्त समय’ नामक गद्य कविता सङ्ग्रह प्रकाशित छ।
महासचिव दाहालले सहजीकरण गरेको कार्यक्रममा सदस्य विविशा रुम्बाले स्वागत मन्तव्य तथा सल्लाहकार डीबी बर्तौलाले आभार मन्तव्य व्यक्त गरेका थिए।
२०७७ पुसमा स्थापना भएको चौतारीले हालसम्म २०० भन्दा बढी भौतिक तथा भर्चुअल कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ। संस्थाले प्रत्येक महिना ‘नवसर्जक मासिक शृङ्खला’, हरेक वर्ष प्रादेशिक नवसर्जक उत्सव तथा नियमित रूपमा नवसर्जक कार्यशाला सञ्चालन गर्दै आएको अध्यक्ष कृतिका लौडारीले जानकारी दिइन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan