Search
Close this search box.

नवोदयमा भानु जयन्ती विशेष कार्यक्रम


हेटौँडा– नेपाली भाषा तथा साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवसरमा हेटौँडास्थित नवोदय शिशु सदन माध्यमिक विद्यालयमा विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमका साथ भानु जयन्ती विशेष समारोह सम्पन्न भएको छ।
नवोदय साहित्यिक बगैँचा बाल क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूमा नेपाली भाषा, साहित्य, सिर्जनशीलता तथा वक्तृत्व कलाको विकास गर्ने उद्देश्यले अन्तरविद्यालय स्थलगत कविता प्रतियोगिता, भानुभक्त आचार्य विशेष बहस, साहित्यिक नाटक प्रदर्शनी, गायन तथा सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरूले भानुभक्त आचार्यको व्यक्तित्व, कृतित्व, नेपाली भाषाको विकासमा उहाँको योगदान तथा समकालीन समाजमा साहित्यको भूमिकाबारे आफ्ना विचार प्रस्तुत गरेका थिए ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको अन्तरविद्यालय कविता प्रतियोगितामा हेटौँडाका विभिन्न आठ विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूले देशप्रेम, मानवता, प्रकृति, शिक्षा, सामाजिक समस्याजस्ता विषयमा आफ्ना मौलिक कविता प्रस्तुत गरेका थिए । प्रतियोगितामा अमर माध्यमिक विद्यालयकी रोशिका भट्टराई, जेम्स बोर्डिङ स्कुलकी अङ्किता सुवेदी तथा कमाने एकेडेमीकी नितिका भट्टराई क्रमशः ऊत्कृष्ट तीन घोषित भए । उत्कृष्ट प्रतियोगीहरूलाई प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो ।
प्रतियोगिताको निर्णायकको भूमिका साहित्यकार केशव समर्पण तथा नवोदय शिशु सदनका मावि संयोजक सिएम रिमालले निर्वाह गरेका थिए । कविता छनोटका क्रममा भाषा, भाव, मौलिकता, प्रस्तुतीकरण, सिर्जनात्मकता तथा सन्देशलाई मूल्याङ्कन तथा वाचनलाई आधार बनाइएको थियो । निर्णायक समर्पणले विद्यार्थीहरूमा साहित्यप्रतिको बढ्दो आकर्षणले नेपाली भाषाको भविष्य उज्ज्वल रहेको विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्तामा सिर्जनशीलताको विकास हुने बताए ।
यसैगरी, भानुभक्त आचार्य विशेष बहस कार्यक्रममा विद्यार्थीहरूले “आजको पुस्ताका लागि भानुभक्तको सान्दर्भिकता”, “नेपाली भाषाको संरक्षणमा युवाको भूमिका” लगायतका विषयमा तर्कपूर्ण विचार राखेका थिए । नाटक प्रदर्शनीमार्फत भानुभक्त आचार्यको जीवन, सङ्घर्ष तथा साहित्यिक योगदानलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो l
नवोदय साहित्यिक बगैँचा बाल क्लबकी अध्यक्ष समृद्धि सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा विद्यार्थीहरूको सक्रिय सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ । विद्यालयले आगामी दिनहरूमा पनि यस्ता साहित्यिक तथा बौद्धिक कार्यक्रमलाई निरन्तरता दिँदै विद्यार्थीहरूमा अध्ययन, सिर्जना र नेतृत्व विकासका अवसरहरू विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan