मकवानपुर । निरन्तर वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि हेटौँडा–काठमाडौं जोड्ने दुई प्रमुख सडकखण्डमा सवारी आवागमन रोकिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सूचना जारी गर्दै हेटौँडा–ठिंगन–बागमती–ललितपुर (कान्ति लोकपथ) तथा हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सडकखण्डमा सवारी सञ्चालन रोकिएको जनाएको हो।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार यात्रुको सुरक्षा सुनिश्चित गर्न र सम्भावित दुर्घटना न्यूनीकरणका लागि उक्त निर्णय गरिएको हो। कान्ति लोकपथ प्रयोग गर्ने सवारी साधनलाई मकवानपुरको चौघडामा रोकिनेछ भने हेटौँडा–कुलेखानी सडक प्रयोग गर्ने सवारीलाई चौकीटोलमा होल्ड गरिनेछ।
प्रशासनका अनुसार कान्ति लोकपथमा असार २९ गते साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालन बन्द रहनेछ। यस्तै, हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सडकखण्डमा सोमबार साँझ ५ बजेदेखि असार ३० गते मंगलबार बिहान ५ बजेसम्म सवारी आवागमन रोक लगाइएको छ।
प्रशासनले यातायात व्यवसायी, चालक तथा यात्रुलाई तोकिएको स्थानभन्दा अगाडि सवारी नलैजान र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

