Search
Close this search box.

सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ

काठमाडौं । समस्याग्रस्त घोषणा भएका पाँच वटा सहकारी संस्थाका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने कार्यको औपचारिक शुभारम्भ गरिएको छ।

जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारी पीडित नागरिकलाई न्याय दिलाउने कार्य सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

बचत फिर्ता शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री बानियाँले लामो समयदेखि रोकिएको बचतकर्ताहरूको बचतलाई सुरक्षित र व्यवस्थित गर्दै प्रभावकारी ढङ्गले फिर्ता गर्ने काम प्रदेश सरकारले अगाडि बढाएको जानकारी दिएका छन्।

बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने सहकारीका सञ्चालकहरूलाई कानुन बमोजिम कडा कारबाही गरिने उनले बताएका छन् ।

समितिले गत जेठ २२ गते समस्याग्रस्त ठहर भएका ती सहकारी संस्थाका ११४ जना ठूला ऋणीको नामावली सार्वजनिक गर्दै सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको थियो । उक्त पाँच सहकारीमा १४ हजार ६४ बचतकर्ताबाट रु २२ अर्व ३८ करोड मागदावी भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समिति जनाएको छ ।

मुख्यमन्त्री बानियाँले सहकारीप्रति सर्वसाधारणको विश्वास पुनःस्थापित गर्न सरकार दृढताका साथ अघि बढिरहेको उल्लेख गर्दै समस्याग्रस्त सहकारीका कारण पीडित बनेका बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया सुरु हुनु सकारात्मक कदम भएको बताएका छन्।

उनले सहकारी संस्था जनताको आर्थिक समृद्धिको आधार बन्नुपर्नेमा केही व्यक्तिको गैरजिम्मेवार गतिविधिका कारण सम्पूर्ण सहकारी क्षेत्र नै बदनाम भएको उल्लेख गरेका छन्। अब यस्ता घटना दोहोरिन नदिन कानुनी व्यवस्था थप प्रभावकारी बनाइने र दोषीलाई कानुनबमोजिम कारबाही गरिने उनको भनाइ छ।

मुख्यमन्त्री बानियाँले साना बचतकर्ताको पसिना र मेहनतबाट संकलित रकम सुरक्षित गर्नु राज्यको दायित्व भएको बताउँदै सरकारले पीडित नागरिकलाई राहत दिने, सहकारी क्षेत्रमा सुशासन कायम गर्ने तथा पारदर्शिता अभिवृद्धि गर्ने दिशामा निरन्तर काम गरिरहेको बताएका छन्।

उनले सहकारीलाई उत्पादन, रोजगारी र आर्थिक विकाससँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै इमानदार सहकारीलाई प्रोत्साहन र अनियमितता गर्ने संस्थामाथि कडा निगरानी गरिने स्पष्ट पारेका छन्।

कार्यक्रममा सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी, बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारी, सहकारी तथा गरिबी निवारण सम्बन्धी सरोकारवाला निकायका प्रतिनिधि, सरकारी अधिकारी, सहकारी अभियन्ता तथा बचतकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा समस्याग्रस्त पाँच सहकारीका साना बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने अभियानको औपचारिक शुभारम्भ गरिएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan