मकवानपुर । मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम राजमार्गबाट १०९.०९६ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। घटनामा प्रयोग गरिएको पिकअप गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
लागुऔषधसहित पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–७ किरानचोक निवासी ४१ वर्षीय सुमन तामाङ र सोही स्थानका १९ वर्षीय ईरोज तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बिहान करिब ४:३० बजे सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४८९३ नम्बरको योद्धा पिकअप रोकी जाँच गरेको थियो।
जाँचका क्रममा गाडीको पछाडिको भागमा त्रिपालले छोपेर प्लास्टिकमा बेरेर लुकाइछिपाइ राखिएको १५ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजाको कुल तौल १०९.०९६ किलोग्राम रहेको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय मनहरीमा राखी लागूऔषध सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

