मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ स्थित कुलेखानी ड्यामनजिकको सिमखोलामा आएको आकस्मिक बाढीले स्कुटरसहित बगाएका चालक महेशकुमार कार्की मृत अवस्थामा फेला परेका छन् ।
सोमबार अपराह्न आएको बाढीले स्कुटरसहित बगाएका कार्कीको शव घटनास्थलबाट करिब १५० देखि २०० मिटर तल खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा बुधबार फेला परेको हो । शव बालुवामुनि गाडिएको अवस्थामा रहेकाले जेसीबी प्रयोग गरी निकालिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार असार २९ गते अपराह्न सिमखोला तर्ने क्रममा अविरल वर्षापछि आएको आकस्मिक बाढीले कार्कीलाई स्कुटरसहित बगाएको थियो ।
मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले निरन्तर खोजी अभियान सञ्चालन गरेपछि बालुवाले पुरिएको अवस्थामा शव फेला परेको हो ।
प्रहरीले घटनाबारे कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।

