Search
Close this search box.

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य सेवामा सहुलियत

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारका लागि प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा सहुलियत उपलब्ध गराउने निर्णय गरेको छ।
बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री किरण थापा मगरले मन्त्रीस्तरीय निर्णय सार्वजनिक गर्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको सिफारिसका आधारमा पत्रकारहरूले उक्त सुविधा प्राप्त गर्ने जानकारी दिए । निर्णय कार्यान्वयनका लागि मन्त्रालयले प्रदेशका सबै प्रादेशिक अस्पताललाई आवश्यक निर्देशनसमेत दिइसकेको उनले बताए।

निर्णयअनुसार पत्रकारहरूले अन्तरंग (वार्ड) सेवामा क्याबिनबाहेक शतप्रतिशत छुट पाउनेछन्। यस्तै, आइसियू, शल्यक्रिया (क्याबिनबाहेक), प्रयोगशाला, एक्स–रे, सिटी स्क्यान, एमआरआई तथा भिडियो एक्स–रे सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

मन्त्रालयका अनुसार प्रसूति सेवा पूर्ण रूपमा निःशुल्क हुनेछ भने पत्रकारले वर्षमा एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गराउन पाउनेछन्। आकस्मिक उपचार सेवा भने सरकारले तोकेको विद्यमान व्यवस्थाअनुसार उपलब्ध हुनेछ।
स्वास्थ्यमन्त्री थापाले पत्रकारहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो लागू गरिएको बताउँदै यसले सञ्चारकर्मीको पेशागत सुरक्षामा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan