Search
Close this search box.

खर्च कटौती र सुशासनका लागि मन्त्रालय ८ वटामा सीमित गर्‍यौं : मुख्यमन्त्री बानियाँ

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रशासनिक खर्च घटाउँदै सुशासनलाई प्रभावकारी बनाउन प्रदेश सरकारको मन्त्रालय संख्या ८ वटामा सीमित गरिएको बताएका छन् ।

हेटौंडा–६ स्थित बिपी गणेशमान स्मृति शान्ति पार्क (पिस पार्क) उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले आफू नेतृत्वमा आएयता आर्थिक मितव्ययिता र सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । सोही नीतिअनुसार विगतमा १७ जनासम्म मन्त्री रहेको प्रदेश सरकारलाई अहिले ८ मन्त्रालयमा सीमित गरिएको उनको भनाइ थियो।
उनले प्रदेशको संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) संरचना छिट्टै टुंगो लगाइने र त्यसपछि मन्त्रालयअनुसार मन्त्रीहरूको संख्या पनि निश्चित हुने जानकारी दिए। हाल केही मन्त्रीलाई अस्थायी रूपमा विषयगत जिम्मेवारी दिइएको उल्लेख गर्दै उनले कार्यविभाजन पनि चाँडै अन्तिम रूप दिइने बताए ।

मुख्यमन्त्री बानियाँले सामाजिक सञ्जालमा पछिल्लो समय बढ्दो नकारात्मक टिप्पणी र गालीगलौजको प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरे। तथ्य नबुझी मोबाइलका आधारमा हुने आलोचनाले विकासको वातावरण बिगार्ने भन्दै उनले सकारात्मक सोच र जिम्मेवार अभिव्यक्तिको आवश्यकता औंल्याए ।

प्रदेश सरकारकै कारण स्थानीय तहसम्म विकासका कार्यक्रम प्रभावकारी रूपमा पुगेको दाबी गर्दै उनले प्रदेश सरकारप्रति सकारात्मक सन्देश प्रवाह गर्न प्रदेशवासीलाई आग्रह गरे। उनले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने, गरिब परिवारका लागि एक हजार घर निर्माण गर्ने लगायतका कार्यक्रम प्रदेश सरकारले सञ्चालन गरिरहेको बताए ।

रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव धितालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, कार्यवाहक वडा अध्यक्ष विजय पौडेल, डिभिजन वन कार्यालयका प्रमुख राकेश चन्द्रबंशी, पर्यटन विकास आयोजना हेटौंडाका प्रमुख रोशन श्रीवास्तव, समूहकी कोषाध्यक्ष गोमा लामिछाने, कार्यसमिति सदस्य पूर्णभद्र चौलागाईं, समाजसेवी भरत सापकोटा र कार्यालय सचिव भीमसेन पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan