Search
Close this search box.

कर्रा खोलामा पौडी खेल्ने क्रममा डुबेका बालकको मृत्यु

हेटौंडा- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेका एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो साथीहरूसँग पौडी खेलिरहेका हेटौंडा उपमहानगरपालिका–१७ निवासी केशव राईका करिब १४ वर्षीय छोरा युकेश राई डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी चौघडाबाट खटिएको टोलीले स्थानीयवासीसँग मिलेर खोजी सुरु गरेको थियो । साथै जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश विपद् व्यवस्थापन प्रहरी गुल्म हेटौंडा तथा सशस्त्र प्रहरीसँग समन्वय गरेर खोज तथा उद्धार अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

खोजीका क्रममा युकेशलाई डुबेको स्थानबाटै फेला पारेर दिउँसो करिब २ बजे उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । तर अस्पतालमा उपचारका क्रममा चिकित्सकले दिउँसो उनलाई मृत घोषणा गरेका हुन् । प्रहरीले शव हेटौंडा अस्पतालमा राखिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यसैबीच प्रहरीले वर्षायाममा खोलानाला तथा पानी जमेको स्थानमा पौडी नखेल्न, बालबालिकालाई डुबान हुन सक्ने जोखिमयुक्त क्षेत्रमा जान नदिन तथा बाढी आएको बेला खोला र खोल्सामा जथाभावी प्रवेश नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan