हेटौंडा । आज साउन २ गते साँझदेखि भोलिसम्म भीषण वर्षाको सम्भावना रहेकाले मकवानपुर प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गर्दै काठमाडौं र ललितपुरतर्फ जाने सवारीसाधन सञ्चालनमा अस्थायी रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार काठमाडौं, ललितपुर, चितवन र सिन्धुलीतर्फ जाने राजमार्गहरूमा बाढी, पहिरो तथा अन्य विपद् जोखिम बढ्न सक्ने भएकाले यात्रु, सवारी चालक तथा सम्बन्धित सबै सरोकारवालालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज साँझ ८:०० बजेदेखि भोलि बिहान ५:०० बजेसम्म हेटौंडा–देउराली हुँदै काठमाडौं जाने सवारीसाधनलाई चौकीटोलमा रोकिनेछ।
त्यसैगरी कान्ति राजमार्ग हुँदै ललितपुर जाने सवारीसाधनलाई पूर्वसूचना अनुसार साँझ ६ बजेदेखि चौघडामै रोकिएको प्रहरीले जनाएको छ।
प्रशासनले मौसमको अवस्था तथा विपद्को जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक कामबाहेक जोखिमयुक्त यात्रा नगर्न र सम्बन्धित निकायबाट जारी हुने सूचना तथा निर्देशनको पालना गर्न सबैमा आग्रह गरेको छ।

