हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ।
कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा प्रधानमन्त्रीले संसदमा दिएको “नेपालले पनि भारतीय भूमि मिचेको छ” भन्ने अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा गम्भीर चोट पुगेको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाइएको छ।
कांग्रेसले उक्त अभिव्यक्तिले आम नेपालीको भावना आहत भएको दाबी गर्दै प्रधानमन्त्रीले संसद र जनतासमक्ष स्पष्ट धारणा राखी माफी माग्नुपर्ने तथा विवादित अभिव्यक्तिलाई प्रतिनिधि सभाको रेकर्डबाट तत्काल हटाउन माग गरेको छ।
ज्ञापनपत्रमा नेपालको लोकतान्त्रिक आन्दोलन, जनआन्दोलन र जनताको बलिदानबाट स्थापित लोकतान्त्रिक व्यवस्थाको सम्मान गर्दै राष्ट्रिय हितसँग सम्बन्धित विषयमा सरकारका उच्च पदाधिकारीले जिम्मेवार र संयमित अभिव्यक्ति दिनुपर्नेमा जोड दिइएको छ।
त्यसैगरी, सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा करको भार बढाएको, विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको तथा जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा जनविरोधी नीति अवलम्बन गरेको आरोप पनि कांग्रेसले लगाएको छ। शिक्षा र स्वास्थ्यमा लगाइएका अतिरिक्त कर तत्काल हटाउन तथा सरकारी विद्यालय र अस्पतालको गुणस्तर सुधार गरी सर्वसुलभ सेवा सुनिश्चित गर्न माग गरिएको छ।
ज्ञापनपत्रमा भूमिहीन तथा सुकुम्बासी व्यवस्थापनका नाममा उचित पुनःस्थापनाको व्यवस्था नगरी बल प्रयोग गरेर बस्ती हटाउने कार्य तत्काल रोक्न पनि सरकारसँग माग गरिएको छ। पुनःस्थापनाको सुनिश्चितता गरेपछि मात्रै सरकारी तथा सार्वजनिक जग्गा संरक्षणको नीति कार्यान्वयन गर्नुपर्ने धारणा कांग्रेसले राखेको छ।
नेपाली कांग्रेस मकवानपुरले ज्ञापनपत्रमा उठाइएका विषयमा सरकारले बेवास्ता गरे सम्बन्धित सरोकारवालासँग समन्वय गरी थप शान्तिपूर्ण विरोधका कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत दिएको छ।
