हेटौंडा । बागमती प्रदेश सरकारबाट तत्काल बाहिरिने विषयमा नेकपा एमालेले कुनै निर्णय नगर्ने भएको छ। काठमाडौंको कोटेश्वरमा सोमबार बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टीको केन्द्रीय नेतृत्वबाट स्पष्ट निर्देशन नआएसम्म सरकारमै रहने निष्कर्ष निकालेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बागमती प्रदेशका कृषि, पशुपन्छी तथा वन–वातावरण मन्त्री मधुसुदन पौडेलले सरकार छाड्ने विषयमा सञ्चारमाध्यममा आएका समाचार सत्य नभएको बताउनुभयो । उहाँले पार्टीको आधिकारिक निर्णय नआएसम्म मन्त्रीहरूले राजीनामा नदिने स्पष्ट पार्नुभयो।
उहाँका अनुसार हाल बागमती प्रदेशमा नेपाली कांग्रेससँगको गठबन्धन कायम रहेको छ। बदलिँदो राजनीतिक परिस्थितिबारे पार्टीको माथिल्लो तहमा छलफल भइरहे पनि अहिलेसम्म कुनै औपचारिक निर्देशन प्राप्त नभएको उहाँले बताउनुभयो ।
‘पार्टी केन्द्रबाट अहिलेसम्म कुनै निर्देशन आएको छैन। निर्देशन आएपछि जे निर्णय हुन्छ, त्यहीअनुसार अघि बढ्छौं। अहिले राजीनामा दिने कुनै तयारी छैन,’ मन्त्री पौडेलले भन्नुभयो ।
पछिल्लो समय मन्त्रालयको जिम्मेवारी तथा बिना विभागीय मन्त्रीका विषयमा उठेका प्रश्नबारे पनि पार्टी नेतृत्व तहमा छलफल भइरहेको र त्यसको निष्कर्ष एक–दुई दिनभित्र आउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले पनि बदलिँदो राजनीतिक समीकरणलाई ध्यानमा राख्दै पार्टी केन्द्र र अन्य राजनीतिक दलसँग आवश्यक संवाद र परामर्शपछि मात्रै आगामी निर्णय लिइने बताउनुभयो । उहाँका अनुसार तत्काल सरकार छाड्ने वा रहने विषयमा कुनै अन्तिम निर्णय भएको छैन।
एमालेले अहिलेका लागि सरकारका नियमित कामकारबाहीलाई निरन्तरता दिने र पार्टी केन्द्रको आधिकारिक निर्देशनपछि मात्रै आवश्यक राजनीतिक कदम चाल्ने जनाएको छ।
