Search
Close this search box.

मकवानपुरको विभिन्न स्थानबाट लागुऔषधसहित ४ जना पक्राउ


हेटौंडा । मकवानपुर प्रहरीले दुई छुट्टाछुट्टै कारबाहीमा प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार साउन ४ गते साँझ करिब ७ः३० बजे हेटौंडा उपमहानगरपालिका–१५ फारलाइन क्षेत्रमा लागूऔषध बिक्रीवितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ३९ वर्षीय इतमान थिङ र ३८ वर्षीय सूर्य बललाई पक्राउ गरेको हो। उनीहरूको शरीर खानतलासी गर्दा खैरो हेरोइन ४ सय ८० मिलिग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै, सोही दिन दिउँसो करिब ३ बजे प्रहरी चौकी लेबटबाट खटिएको टोलीले हेटौंडा–३ लेबटस्थित पूर्वपश्चिम राजमार्गमा सवारी तथा व्यक्तिको चेकजाँच गर्ने क्रममा बा.७५ प ८२१७ नम्बरको मोटरसाइकलमा सवार २२ वर्षीय रवि स्याङतान र राक्सिराङ गाउँपालिका–१ निवासी २४ वर्षीय सुजन स्याङतानलाई शंकाका आधारमा खानतलासी गरेको थियो। उनीहरूको साथबाट ९०० मिलिग्राम खैरो हेरोइन बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनाविरुद्ध मकवानपुर जिल्ला अदालतबाट लागूऔषध कसुरमा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan