हेटौँडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का ६ जना मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई प्रत्यक्ष रूपमा राजीनामापत्र बुझाउने प्रयास सफल नभएपछि उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामापत्र दर्ता गराएका हुन् ।
राजीनामा दिने मन्त्रीहरूमा कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ तथा बिनाविभागीय मन्त्रीहरू किरण थापा मगर, भरतबहादुर केसी र जयराम थापा रहेका छन् ।
नेकपा (एमाले) संसदीय दलले नेपालको संविधानको धारा १६८ (२) बमोजिम गठन भएको प्रदेश सरकारबाट बाहिरिने निर्णयसँगै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको जनाएको छ।
मन्त्रीहरूले बुझाउनुभएको राजीनामापत्रमा आफ्नो कार्यकालमा सहयोग पुर्याउने मुख्यमन्त्री, प्रदेशसभा सदस्य, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी तथा बागमती प्रदेशवासीप्रति आभार व्यक्त गरेका छन् ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै बागमती प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड आएको छ। यससँगै मुख्यमन्त्री बानियाँले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ भने नयाँ गठबन्धन निर्माणको सम्भावनाबारे पनि राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
एमाले सरकारबाट बाहिरिएपछि बागमती प्रदेशको सत्ता समीकरण र आगामी राजनीतिक रणनीतिप्रति चासो बढेको छ।
