हेटौंडा । मकवानपुरमा हुने अधिकांश लैङ्गिक हिंसाका घटनामा पीडित अपरिचितभन्दा आफ्नै चिनजानका व्यक्ति, परिवार र नजिकका सम्बन्धबाट बढी प्रभावित हुने गरेको तथ्य सार्वजनिक भएको छ। हेटौँडा अस्पतालस्थित अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) ले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा प्रतिवेदनले हिंसाका अधिकांश घटना विश्वासको घेराभित्रै हुने गरेको देखाएको हो।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा ओसीएमसीमा कुल ३२२ वटा हिंसाका घटना दर्ता भएका छन्, जुन अघिल्लो आर्थिक वर्षको २८७ घटनाको तुलनामा ३५ ले बढी हो। दर्ता भएका घटनामध्ये २४९ नयाँ र ७३ पुराना (फलोअप) घटना रहेका छन्।
नयाँ घटनामध्ये २२७ जना परिचित व्यक्तिबाट र २२ जना अपरिचित व्यक्तिबाट हिंसामा परेका छन्। परिचित व्यक्तिमध्ये समुदायका सदस्यबाट ५७ जना, श्रीमान्बाट ४२ जना, प्रेमी–प्रेमिकाबाट ४१ जना, परिवारका अन्य सदस्यबाट २६ जना, आफन्तबाट १७ जना र कर्मचारीबाट ८ जना पीडित भएका छन्। तथ्याङ्कले अधिकांश हिंसा आफ्नै चिनजान र विश्वासको सम्बन्धभित्रै हुने गरेको पुष्टि गरेको छ।
हिंसाको प्रकृतिअनुसार जबर्जस्ती करणीका ९५ र शारीरिक हिंसाका ९४ घटना सबैभन्दा बढी दर्ता भएका छन्। यस्तै घरेलु हिंसाका ३६, यौनजन्य हिंसाका २२, बालविवाहका १७, मानसिक हिंसाका ४ तथा अन्य प्रकृतिका ५४ घटना अभिलेख भएका छन्।
पीडितमध्ये २७१ जना महिला र ५१ जना पुरुष रहेका छन्। उमेर समूहअनुसार १९ देखि ४९ वर्षका ९९ जना सबैभन्दा बढी प्रभावित भएका छन्। त्यसपछि १५–१८ वर्षका ९४ जना, १४ वर्षमुनिका ७६ जना, ५०–६० वर्षका १३ जना र ६० वर्षमाथिका ३ जना रहेका छन्।
स्थानीय तहअनुसार हेटौँडा उपमहानगरपालिकामा सबैभन्दा बढी १६४ घटना दर्ता भएका छन्। त्यसपछि मनहरी गाउँपालिका ४०, मकवानपुरगढी २३, बकैया २२, राक्सिराङ १९, भीमफेदी १७, बागमती ९, थाहा नगरपालिका ७, कैलाश ४ र इन्द्रसरोवर २ घटना रहेका छन्। अन्य जिल्लाका २४ घटना पनि केन्द्रमा दर्ता भएका छन्।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा केन्द्रले १ हजार ३३१ जनालाई विभिन्न सेवा प्रदान गरेको छ। पीडितमध्ये १३४ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ११२ जनालाई थप कानुनी तथा प्रशासनिक प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय पठाइएको छ।
केन्द्रले स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, कानुनी सहायता, सुरक्षित आवास, पुनःस्थापना तथा सुरक्षा निकायसँग समन्वय गर्दै आएको जनाएको छ। पीडितको आर्थिक सबलीकरणका लागि होटल व्यवसाय सञ्चालन, बाख्रा पालन तथा साना व्यवसायका सामग्रीसमेत उपलब्ध गराइएको छ।
पछिल्ला वर्षहरूमा लैङ्गिक हिंसाका घटना बढ्दो क्रममा देखिए पनि अझै धेरै पीडित केन्द्रसम्म पुग्न नसक्ने र कतिपयले घटना दर्ता गर्नसमेत नमान्ने चुनौती कायम रहेको जानकारी दिइएको छ।
