Search
Close this search box.

मनहरी गाउँपालिकाको वार्षिक समीक्षा

मनहरी–मकवानपुरको पश्चिम क्षेत्रमा रहेको मनहरी गाउँपालिकाले बितेको आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्थाबारे वार्षिक समीक्षा गरेको छ । बुधबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको अध्यक्षतामा भएको वार्षिक समीक्षा कार्यक्रममा गाउँपालिकाका ९ वटै वडाका वडा सचिव, पालिकाका विभिन्न शाखाका शाखा तथा उपशाखा प्रमुखहरुले एक आर्थिक वर्षमा गरेका कार्यक्रमहरुबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

वार्षिक समीक्षा कार्यक्रममा गाउँपालिकाको गत आर्थिक वर्षको समग्र प्रगतिको समीक्षा गर्दै वरिष्ठ लेखा अधिकृत राजेन्द्र भट्टराईले गाउँपालिकाले ८७ करोड ७२ लाख ३९ हजार रुपैयाँको बजेट कार्यान्वयन गरेकोमा ६४ करोड ५९ लाख ७३ हजार रुपैयाँ अर्थात ७३ दशमलव ६३ प्रतिशत खर्च भएको जानकारी दिए । वार्षिक आम्दानीतर्फ ७४ करोड ३ लाख ७९ हजार अर्थात कुल अनुमानको ८४ दशमलव ३९ प्रतिशत लक्ष्य हासिल गरेको उनले जानकारी दिए । वितेको वर्ष चालु खर्चतर्फ ८० दशमलव ३१ प्रतिशत र पुँजीगततर्फ ६२ दशमलव ५८ प्रतिशत खर्च भएको भट्टराईले जानकारी दिए ।

वार्षिक समीक्षा कार्यक्रममा मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले कर्मचारीको लगनशीलता र कर्तव्य पालनाका कारण कार्यक्रम कार्यन्वयन सफल भएको भन्दै कर्मचारीहरुप्रति धन्यवाद ज्ञापन गरिन् । १ नम्बर वडाका अध्यक्ष शिवप्रसाद खनालले विगतमा भएका कामहरुको समीक्षा गर्दै आगामी दिनमा अझ उत्कृष्ट काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रमकैबीच ४ जना कर्मचारीलाई बिदाई गरिएको थियो भने शिक्षा शाखाका लक्ष्मण अधिकारीलाई असार महिनाको उत्कृष्ट कर्मचारी घोषित गरी पुरस्कृत गरिएको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan