हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–७ मा अवैध रूपमा सञ्चालन भइरहेको ह्यान्बिट नानो थेरापी सेन्टरलाई सिल गर्नुका साथै ३ लाख रुपैयाँ जरिवाना गरिएको छ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा उक्त थेरापी सेन्टर आवश्यक मापदण्ड तथा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरिएको भेटेपछि तत्काल सिल गरेको हो।
अनुगमन टोलीले प्रचलित कानुन तथा मापदण्डविपरीत सेवा सञ्चालन गरेको पुष्टि भएपछि थेरापी सेन्टरलाई ३ लाख रुपैयाँ जरिवाना समेत गरेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले स्वास्थ्यसम्बन्धी सेवा दिने संस्था तथा क्लिनिकहरूलाई आवश्यक अनुमति, दर्ता र मापदण्ड पूरा गरेर मात्रै सञ्चालन गर्न आग्रह गर्दै नियमविपरीत सञ्चालन हुने संस्थामाथि यस्ता अनुगमन र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।
केही प्रतिक्रिया छ कि ?
