हेटौँडा । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा अस्पतालमा भएको तोडफोडको घटनाका दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघ मकवानपुर शाखाले बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ।
नेपाल चिकित्सक संघ मकवानपुर शाखाका सचिव डा. राजु सेढाईको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भेला भएका चिकित्सक तथा स्वास्थ्यकर्मीले सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीमार्फत नेपाल सरकारलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापन बुझाउने कार्यक्रममा करिब २५ जना चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता थियो।
संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनाको चार दिन बितिसक्दासमेत दोषीविरुद्ध कानुनी कारबाही अघि नबढाइएको, पीडितमाथि नै दमन गरिएको तथा वार्तामा सहभागी चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै गम्भीर असन्तुष्टि जनाएको छ।
यस घटनाको विरोधस्वरूप नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार बुधबार मकवानपुर जिल्लाभर सरकारी, गैरसरकारी तथा निजी अस्पताल, पोलिक्लिनिक र क्लिनिकमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको थियो।
संघले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्दै दोषीलाई तत्काल कानुनबमोजिम कारबाही गर्न, स्वास्थ्य संस्थामा हुने आक्रमण रोक्न प्रभावकारी व्यवस्था गर्न तथा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा सेवा दिने अवस्था सिर्जना गर्न सरकारसँग माग गरेको छ।
आन्दोलनका कारण सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै संघले यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने उल्लेख गरेको छ।
