हेटौँडा – बालसाहित्यकार सिएम रिमालद्वारा लिखित बाल पुस्तक ‘समयको यात्रा’ गुरु पूर्णिमाको विशेष अवसरमा बुधबार सार्वजनिक गरिएको छ।
यसअघि रिमालको पहिलो बालकथा सङ्ग्रह ‘कथा भन्छु नि ल’ वि.सं. २०८० मा प्रकाशित भएको थियो। नयाँ कृति ‘समयको यात्रा’ पूर्वकिशोर तथा किशोरावस्थामा प्रवेश गरिरहेका पाठकलाई लक्षित गर्दै तयार पारिएको अध्याय पुस्तक तथा बाल उपन्यास हो।
पुस्तकको लोकार्पण समारोहमा प्रमुख अतिथि साहित्यकार निमेष निखिलसहितका अतिथिहरूले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि निखिलले बालसाहित्यले बालबालिकामा सिर्जनशीलता अभिवृद्धि गर्नुका साथै पठन संस्कृतिको विकास र सकारात्मक जीवनदृष्टि निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। यस्ता कृतिले बाल पाठकलाई कल्पना, संवेदना र सामाजिक यथार्थसँग जोड्दै उनीहरूको सोचलाई फराकिलो बनाउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रमको अध्यक्षता नवोदय शिशु सदनका प्रधानाध्यापक दिपेश जोशीले गर्नुभएको थियो। कार्यक्रममा पत्रकार सुरेश श्रेष्ठ, नवोदय शैक्षिक इनोभेसनका प्रमुख कार्यकारी अधिकृत अव्यक्त खनाललगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कक्षा ८, ९ र १० का विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप जीवन्त र अर्थपूर्ण बनाएको थियो।
आठ अध्यायमा संरचित पुस्तकले पुस्तकालयको महत्व, अध्ययन संस्कृतिको विकास, आफ्नै देशमा बसेर पनि सिर्जनात्मक र अर्थपूर्ण योगदान गर्न सकिने सोच तथा सकारात्मक जीवनदृष्टिलाई कथामार्फत प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।
पुस्तकका केही प्रसङ्ग सशक्त कल्पनामा आधारित छन् भने केही कथावस्तु नेपाली समाजका वास्तविक घटनाबाट प्रेरित छन्। त्यसैले यो कृतिले पाठकलाई मनोरञ्जन मात्र नभई सोच्न, नयाँ कुरा खोज्न र जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
