हेटौंडा । हेटौंडाको एक क्याम्पसमा अध्ययनरत एक छात्राले आफू अपहरणमा परेको भन्दै परिवारलाई जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान अघि बढाएको थियो। तर केही दिनसम्मको अनुसन्धानपछि ती छात्राले प्रहरीसमक्ष आफूले अपहरणको झुटो कथा बनाएको र साथीको घरमा बसेको स्वीकार गरेकी छन्।
प्रहरीका अनुसार ती छात्रा बिहान कलेज जान भन्दै घरबाट निस्किएकी थिइन्। केही समयपछि उनी घर फर्किएर आफू होसमा नरहेको अवस्थामा कसैले अपहरण गरेको र करिब ११ बजेतिर अपहरणकारीहरूले “गलत मान्छे उठाएछौं” भन्दै आपसमा कुरा गरिरहेको बेला आफू भागेर घर फर्किन सफल भएको बताएकी थिइन्।
घटनापछि परिवारले सोही दिन जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएपछि प्रहरी टोलीले घटनास्थल तथा सम्भावित क्षेत्रको स्थलगत अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा छात्राले आफू कहाँबाट लगिएको हो भन्ने याद नभएको, विभिन्न स्थानमा सिसिटिभी क्यामेरा नरहेको तथा घटनाबारे स्पष्ट विवरण दिन नसकेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले अनुसन्धान अघि बढाएपछि घटनाको वास्तविकता खुल्दै गएको थियो। अन्तत छात्राले प्रहरीसमक्ष आफू अपहरणमा नपरेको, झुटो विवरण दिएको र साथीको घरमा बसेको स्वीकार गरेकी हुन्।
यस घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले अभिभावकलाई आफ्ना सन्तानको गतिविधिबारे नियमित रूपमा जानकारी राख्न र कुनै पनि घटना सार्वजनिक गर्नु वा उजुरी दिनुअघि यथार्थ बुझ्न आग्रह गरेको छ।
