Search
Close this search box.

मुख्यमन्त्री बानियाँलाई सर्वदलीय समर्थन जुटाउने जिम्मा

हेटौंडा– बागमती प्रदेशमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई निरन्तरता दिन आवश्यक राजनीतिक पहल अघि बढाउने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग लिखित र मौखिक समन्वय गरी सरकारका लागि समर्थन जुटाउने जिम्मेवारी सर्वसम्मत रूपमा प्रदान गरेको हो ।

बैठकले उक्त प्रक्रिया केन्द्रीय नेतृत्वसँग आवश्यक समन्वय गरेर अघि बढाइने जनाएको छ । बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व उपप्रधानमन्त्री तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापति गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
त्यसैगरी, कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा भएको दुःखद घटनापछि देशका विभिन्न स्थानमा उत्पन्न तनावपूर्ण अवस्थाप्रति पनि बैठकले चिन्ता व्यक्त गरेको छ। घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरिएको छ । संसदीय दलले थप हिंसा र क्षति हुन नदिन, धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै संवादमार्फत समस्या समाधान गर्न सबै पक्षलाई अपिल गरेको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan