हेटौंडा । मकवानपुरका विद्यालय नर्स, स्वास्थ्यकर्मी तथा बालमैत्री सम्पर्क शिक्षकहरूका लागि आयोजित तीनदिने सामाजिक–भावनात्मक सिकाइ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
सिविन नेपाल मकवानपुरको आयोजना, जनस्वास्थ्य कार्यालय मकवानपुरको समन्वय तथा प्लान इन्टरनेशनल नेपालको सहकार्यमा साउन १२ देखि १४ गतेसम्म सञ्चालन भएको कार्यक्रममा जिल्लाका १० स्थानीय तहमध्ये इन्द्रसरोवर गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहका करिब ७० जना विद्यालय नर्स, स्वास्थ्यकर्मी तथा बालमैत्री सम्पर्क शिक्षकहरूको सहभागिता थियो।
बिहीबार सम्पन्न समापन कार्यक्रममा सिविन नेपालका कार्यक्रम व्यवस्थापक कृष्ण तामाङको सभाध्यक्षता तथा जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठको प्रमुख आतिथ्यता थियो। कार्यक्रममा सूचना अधिकारी लक्ष्मण घिमिरे, सिविनका प्रबन्धक झविन्द्र ज्ञावली, बागमती प्रदेशका मनोविद् एवम श्रेष्ठ, साप्लानीरकी सृजना श्रेष्ठ तथा जनस्वास्थ्य कार्यालयकी अम्बिका कुमारीलगायतको उपस्थिति थियो।
अभिमुखीकरणमा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका मानसिक स्वास्थ्य फोकल पर्सन, क्लिनिकल साइकोलोजिस्ट तथा मानसिक स्वास्थ्य विज्ञहरूले सहजीकरण गरेका थिए। मनोचिकित्सक परामर्शदाता डा. घनश्याम राई र क्लिनिकल साइकोलोजिस्ट अन्जन ढकालले मानसिक स्वास्थ्य, सामाजिक–भावनात्मक सिकाइ, भावना पहिचान तथा व्यवस्थापन, तनाव व्यवस्थापन, आत्मसम्मान, सकारात्मक सोच, प्रभावकारी सञ्चार, समस्या समाधान, अन्तरव्यक्तिगत सम्बन्ध, लैङ्गिक तथा महिला स्वास्थ्य, अनुशासन र विद्यार्थीमैत्री सिकाइ वातावरण निर्माणलगायत विषयमा प्रशिक्षण दिएका थिए।
सहभागीहरूले तालिम व्यवहारिक, उपयोगी र समयसापेक्ष रहेको प्रतिक्रिया दिँदै प्राप्त ज्ञानलाई विद्यालयमा प्रयोग गरी विद्यार्थीहरूको मानसिक स्वास्थ्य तथा सामाजिक–भावनात्मक विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएका छन्। साथै, यस्ता तालिमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। कार्यक्रमको समापनसँगै सहभागीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो।
