Search
Close this search box.

सामाजिक सद्भाव जोगाउन सुरक्षा संयन्त्रलाई मुख्यमन्त्री बानियाँको निर्देशन


हेटौंडा– सुनसरी घटनापछि विकसित सुरक्षा अवस्थालाई केन्द्रमा राख्दै बागमती प्रदेश सुरक्षा समितिको बैठक शुक्रबार बिहान भर्चुअल माध्यमबाट बसेको छ ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा बसेको बैठकमा सुनसरी घटनापछि कोशी र मधेश प्रदेशमा देखिएको हिंसात्मक गतिविधि, त्यसको प्रभाव तथा बागमती प्रदेशको समग्र सुरक्षा अवस्थाबारे समीक्षा गरिएको थियो ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले सुनसरी घटनापछि उत्पन्न परिस्थिति अन्य प्रदेशमा समेत फैलिन सक्ने संकेत देखिएकाले सम्भावित हिंसात्मक गतिविधि रोक्न सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिए । उनले सबै सुरक्षा निकाय र सरोकारवालासँग समन्वय गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई कायम राख्न प्रभावकारी रूपमा परिचालन हुन आग्रह गरे ।

मुख्यमन्त्री बानियाँले आफू प्रदेश सरकारको नेतृत्वसँगै नेपाली कांग्रेस बागमती प्रदेश सभापतिको भूमिकामा समेत रहेकाले सामाजिक सद्भाव कायम राख्न प्रदेशका राजनीतिक दल तथा धार्मिक संघ–संस्थाका नेतृत्वसँग निरन्तर संवाद गरिरहेको जानकारी दिए ।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका बागमती प्रदेश प्रमुखहरूले प्रदेशको वर्तमान सुरक्षा अवस्था, अपनाइएका सुरक्षा उपाय र आगामी रणनीतिबारे जानकारी गराएका थिए । बैठकमा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री शिवराज अधिकारी, प्रमुख सचिव बाबुराम अधिकारी, प्रदेश सचिव कृष्णबहादुर शाही तथा प्रदेशका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan