Search
Close this search box.

हेटौँडामा ग्रान्ड ब्यूटी एक्स्पो–२०८३ हुँदै

हेटौँडा । युवाहरूको उद्यमशीलता विकास, सीपमूलक तालिम तथा स्वरोजगार प्रवर्द्धनमा सक्रिय संस्था युथ इको नेपालले हेटौँडामा ‘ग्रान्ड ब्यूटी एक्स्पो–२०८३’ आयोजना गर्ने भएको छ।
शुक्रबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत संस्थाले साउन २९ र ३० गते हेटौँडा–१, चौकीटोलस्थित हिमालयन दरबारमा दुईदिने एक्स्पो आयोजना गर्न लागेको जानकारी दिएको हो।
कार्यक्रम संयोजक सुष्मा राना मगरका अनुसार देशभरका करिब एक हजारभन्दा बढी सौन्दर्यकर्मी, ब्यूटी प्रोफेसनल, विद्यार्थी तथा उद्यमशीलतामा रुचि राख्ने व्यक्तिको सहभागिता गराउने लक्ष्य राखिएको छ। सहभागीहरूले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट प्रत्यक्ष ज्ञान, सीप र अनुभव हासिल गर्ने अवसर पाउनेछन्।
एक्स्पोमा भारतकी चर्चित मेकअप आर्टिस्ट भूमिका बहलले आधुनिक तथा वैज्ञानिक मेकअप प्रविधिबारे प्रशिक्षण दिनेछिन्। त्यसैगरी हेयर कलरिङ विशेषज्ञ म्याक अब्राहमले आधुनिक हेयर कलरिङ प्रविधि तथा लोकप्रिय हेयर आर्टिस्ट सन्नी कुमारले समसामयिक हेयरकट, हेयर स्टाइलिङ र हेयर केमिकलसम्बन्धी विशेष प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
संयोजक मगरका अनुसार कार्यक्रममार्फत विशेषगरी मेकअप र हेयर क्षेत्रलाई प्राथमिकता दिइनेछ। सम्पूर्ण प्रशिक्षार्थीलाई अन्तर्राष्ट्रिय प्रमाणपत्र प्रदान गरिनेछ भने उद्घाटन समारोहमा दार्जिलिङ–मिरिककी गायिका इनुङ्मा राईको विशेष सांगीतिक प्रस्तुति रहनेछ।
कार्यक्रमका लागि करिब १५ देखि २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। टिकट शुल्क ३ हजार ५ सय रुपैयाँ तोकिएको छ।
संयोजक मगरले युथ इको नेपालले हालसम्म ४३ वटा कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिँदै पहिलो पटक काठमाडौं बाहिर हेटौँडामा बृहत् कार्यक्रम आयोजना गर्न लागिएको बताइन्। हेटौँडामा यसअघि सञ्चालन गरिएका सीपमूलक तालिममा उत्साहजनक सहभागिता देखिएकाले यसपटक पनि हेटौँडालाई नै रोजिएको उनको भनाइ छ।
उनले हेटौँडा,काठमाडौं, चितवनलगायत विभिन्न जिल्लाका सहभागीका लागि सहज गन्तव्य भएकाले पनि कार्यक्रम यहीँ आयोजना गरिएको बताइन्। कार्यक्रममा उमेरको कुनै सीमा नराखिएको र सौन्दर्य क्षेत्रमा रुचि राख्ने सबैले सहभागी हुन सक्ने उनले जानकारी दिइन्।

मगरका अनुसार संस्थाको मुख्य उद्देश्य समाजसेवा, सीप विकास र युवालाई स्वरोजगारतर्फ प्रेरित गर्नु हो। कार्यक्रमबाट बचत हुने रकमसमेत सामाजिक सेवामा खर्च गरिने उनले बताइन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan