हेटौंडा । हेटौंडामा दोहोरी तथा थकाली रोधी घरमा वेटरको रूपमा कार्यरत एक किशोरीको शंकास्पद अवस्थामा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल हेटौंडा उपमहानगरपालिका–१०, टिसिएन रोडस्थित डेरामा बस्दै आएकी अन्दाजी १७–१८ वर्षीया अनिशा बिक शनिबार बिहान करिब ६ बजे आफ्नै कोठाभित्र अचेत अवस्थामा फेला परेकी थिइन्। उनी हेटौंडास्थित आरआरएस थकाली रोधी घरमा वेटरको रूपमा कार्यरत थिइन्।
साथीहरूले तत्काल उपचारका लागि बिहान ६:१५ बजे हेटौंडा अस्पताल पुर्याएका थिए। अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गर्दा उनको मृत्यु भइसकेको पुष्टि गरेका थिए।
घटनाबारे बिहान ६:३० बजे हेटौंडा अस्पतालमा खटिएको प्रहरीमार्फत जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा सोकोसहितको अनुसन्धान टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको प्रकृति शंकास्पद देखिएकाले घटनास्थलको मुचुल्का उठाई आवश्यक अनुसन्धान अघि बढाइएको छ। मृत्युको यथार्थ कारण पोस्टमार्टम प्रतिवेदन र थप अनुसन्धानपछि मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
