हेटौंडा। सुनसरी र सिराहामा हालै भएका दुःखद घटनापछि सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी भाइचारा कायम राख्ने उद्देश्यले शनिबार हेटौंडामा सर्वधर्म सद्भाव र्याली सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा, हेटौंडा उपमहानगरपालिका, मकवानपुर उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था महासंघ मकवानपुरको सहकार्य तथा सर्वधर्म सेवा समाज मकवानपुरको समन्वयमा आयोजित र्याली हेटौंडा–४ स्थित हुप्राचौरबाट सुरु भएको थियो।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा भएको र्यालीमा हिन्दु, मुस्लिम, बौद्ध, क्रिश्चियन र जैन धर्मावलम्बी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दल, पत्रकार, सर्वसाधारण तथा सुरक्षाकर्मीसहित करिब दुई हजारभन्दा बढीको सहभागिता थियो।
र्याली हुप्राचौरबाट सुरु भई सितलमहल चोक, कपुर कम्प्लेक्स, महेन्द्र राजमार्ग, सीमाचोक, बुद्धचोक, पिपलबोट र मकवानपुर उद्योग वाणिज्य संघ हुँदै संगमचोकमा पुगेर समापन भएको थियो। सहभागीहरूले राष्ट्रिय झण्डासहित सामाजिक सद्भाव झल्काउने प्लेकार्ड बोकेर “हिंसा होइन, शान्ति रोजौँ”, “हिमाल, पहाड, तराई, कोही छैन पराई”, “सबै धर्मको सम्मान गरौँ” र “विवाद होइन, संवाद गरौँ” लगायतका नाराहरू लगाएका थिए।
संगमचोकमा आयोजित समापन कार्यक्रममा सुनसरी र सिराहामा भएको साम्प्रदायिक हिंसामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण र दीप प्रज्ज्वलन गरिएको थियो।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र कानुनी शासन कायम राख्न सबै पक्षबीच सहकार्य, संयम र आपसी विश्वास आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रकाश गौतम, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, हेटौंडा उपमहानगरपालिकाका वडाध्यक्षहरू तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।
