हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री शैलेन्द्रमान बज्राचार्यले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुखले बज्राचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथसँगै उनले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्।
शपथ ग्रहणपछि मन्त्री बज्राचार्यले प्रदेशका पूर्वाधार विकासका योजनालाई प्रभावकारी, पारदर्शी र जनमुखी ढंगले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। विकास निर्माणका कामलाई गति दिने र नागरिकको अपेक्षाअनुसार परिणाममुखी कार्यसम्पादनमा केन्द्रित हुने उनको भनाइ थियो।
यसअघि भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले राजीनामा दिएपछि मन्त्रालय नेतृत्वविहीन बनेको थियो। रिक्त रहेको उक्त मन्त्रालयको जिम्मेवारी अब बज्राचार्यले सम्हालेका हुन्।
बज्राचार्यको नियुक्तिसँगै बागमती प्रदेश सरकारमा सत्ता साझेदार हाम्रो नेपाली पार्टी (हानेपा) को सहभागिता औपचारिक रूपमा सुरु भएको छ।
