Search
Close this search box.

खोल्सी तर्ने क्रममा बगेकी महिलाको उपचारका क्रममा मृत्यु

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–४ स्थित चिरुवा खोल्सी तर्ने क्रममा बाढीले बगाएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान करिब ९ः३० बजे बकैया–४ नयाँडमारकी ४१ वर्षीया तारा भोलन र सोही स्थानकी ५० वर्षीया सुनमाया वाइवा घरबाट दूध डेरीतर्फ जाने क्रममा चिरुवा खोल्सी तर्दै थिए। सोही बेला एक्कासि खोल्सीमा पानीको बहाव बढेपछि दुवै जना करिब २००–३०० मिटर तलसम्म बगेर घाइते भएका थिए।

घटनापछि दुवै जनालाई बकैया आधारभूत अस्पतालमा उपचारका लागि लगिएको थियो। उनीहरूको हातखुट्टा र ढाडमा चोट लागेको भए पनि अवस्था सामान्य रहेकाले उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ।

तर मंगलबार दिउँसो तारा भोलनको स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई उपचारका लागि चुरेहिलस्थित सीएमसी अस्पताल लगिएको थियो। उपचारकै क्रममा दिउँसो २ः५७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
अर्की घाइते सुनमाया वाइवाको उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेकाले घर फर्किएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan