Search
Close this search box.

दूधको बक्यौता नतिर्ने मकवानपुरका डेरी उद्योगविरुद्ध कानुनी प्रक्रिया सुरु हुने

हेटौंडा। मकवानपुरका दुग्ध उत्पादक किसानलाई सहमतिअनुसार भुक्तानी नगर्ने डेरी उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालयले कानुनी प्रक्रिया अघि बढाउने भएको छ।

सोमबार प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा डेरी उद्योगका सञ्चालक तथा जिल्ला दुग्ध उत्पादक सहकारी संघका प्रतिनिधिसहित बसेको बैठकले किसानको रकम रोक्ने उद्योगलाई पत्राचार गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी अधिकारीले किसानको पसिनाको मूल्य रोक्न कसैलाई छुट नहुने स्पष्ट पार्दै वैशाख १४ गते भएको सहमतिअनुसार असार मसान्तसम्म कम्तीमा ६५ प्रतिशत र असोजभित्र शतप्रतिशत भुक्तानी नगर्ने उद्योगलाई कानुनबमोजिम कारबाही गरिने बताउनुभयो। किसानले समयमै आफ्नो रकम नपाउँदा दैनिक जीविकोपार्जनमै असर परेको भन्दै प्रशासन आवश्यक परे थप हस्तक्षेप गर्न तयार रहेको उहाँको भनाइ थियो।

बैठकमा प्रस्तुत विवरणअनुसार हेटौंडा–४ स्थित भुटनदेवी डेरी फर्म र हेटौंडा–८ स्थित पवित्र मिल्कले हालसम्म किसानलाई कुनै रकम भुक्तानी नगरेको पाइएको छ। भुटनदेवी डेरीले करिब २२ लाख ३३ हजार रुपैयाँ र पवित्र मिल्कले ४६ लाख ३१ हजार रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको छ।

यस्तै हेटौंडा–१२ स्थित एसके डेरीले करिब १० प्रतिशत मात्र रकम भुक्तानी गरेको छ भने अझै २८ लाख १६ हजार रुपैयाँ बाँकी रहेको छ। हेटौंडा–६ स्थित कल्पवृक्ष डेरीले जम्मा १ प्रतिशत मात्र रकम तिरेको र ६५ लाख रुपैयाँभन्दा बढी किसानलाई दिन बाँकी रहेको विवरण बैठकमा प्रस्तुत गरिएको थियो।

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका निवर्तमान अध्यक्ष तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले उद्योगीहरूले पाक्षिक भुक्तानीसम्बन्धी सहमति कार्यान्वयन नगर्दा किसान मर्कामा परेको बताउनुभयो। उहाँका अनुसार महिनाको १ देखि १५ गतेसम्म संकलन गरिएको दूधको रकम सोही महिनाको २२ गतेभित्र र १६ गतेदेखि मसान्तसम्मको रकम अर्को महिनाको १० गतेभित्र भुक्तानी गर्ने सहमति भए पनि त्यसको पालना हुन सकेको छैन।

उहाँले उद्योगीहरूको लापरबाहीका कारण भुक्तानीको समस्या झन् जटिल बन्दै गएको उल्लेख गर्दै सहमतिअनुसार रकम नतिर्ने उद्योगविरुद्ध कानुनी प्रक्रिया अघि बढाउन सहकारी संघ तयार रहेको बताउनुभयो।

केही डेरी उद्योगले भने सहमतिअनुसार बक्यौता भुक्तानी गर्दै आएका छन्। कविता डेरी तथा जुस उद्योग र नारायणी मिल्क एण्ड फुड्स प्रालिले ९० प्रतिशतभन्दा बढी बक्यौता रकम भुक्तानी गरिसकेका छन्। त्यसैगरी गायत्री डेरी एण्ड एग्रो प्रालिले ४५ प्रतिशत, शुभ डेरी उद्योगले ४२ प्रतिशत, स्यार्से कालिका डेरीले ३५ प्रतिशत, पिज्जा कटर प्रालिले ३१ प्रतिशत तथा अनुश्री सप्लायर्सले २३ प्रतिशत रकम किसानलाई भुक्तानी गरेका छन्।

संघका अनुसार २०८२ फागुन मसान्तसम्म किसानलाई तिर्न बाँकी कुल १४ करोड ३५ लाख रुपैयाँमध्ये असार मसान्तसम्म ४ करोड ३४ लाख रुपैयाँ मात्र भुक्तानी भएको छ भने बाँकी रकम अझै किसानले पाउन सकेका छैनन्।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी तथा डेरी उद्योगका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan