हेटौंडा । भरतपुर महानगरपालिका-११ घर भई हाल हेटौंडा-१० मा डेरा गरी बस्दै आएकी १७ वर्षीया अनिशा बिकको शंकास्पद अवस्थामा मृत्यु भएको घटनामा प्रहरीले दोहोरीका म्यानेजर र सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार आरआर दोहोरी तथा थकाली घरका म्यानेजर २९ वर्षीय सुवास स्याङ्ताङलाई शनिबार नै नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको थियो । घटनामा किटानी जाहेरी परेपछि दोहोरीका सञ्चालक ४५ वर्षीय राजकुमार मोक्तालाई पनि मंगलबार अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार घटनाको प्रकृति शंकास्पद देखिएकाले विस्तृत अनुसन्धान भइरहेको छ । घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन, फरेन्सिक परीक्षण तथा अन्य प्रमाणका आधारमा मात्रै पुष्टि हुने प्रहरीले जनाएको छ ।
मृतकका परिवारले घटनालाई हत्या भएको दाबी गर्दै किटानी जाहेरी दिएका छन् । मृतकका ठूलोबुवाकाअनुसार पोस्टमार्टमपछि चिकित्सकले प्रारम्भिक रूपमा मृत्यु झुन्डिएर भएको जस्तो नदेखिएको र थप पुष्टि गर्न रगतसहितका नमुना परीक्षणका लागि पठाइएको जानकारी दिएका थिए । यसबारे भने सम्बन्धित अस्पताल वा प्रहरीले औपचारिक विवरण सार्वजनिक गरेको छैन ।
परिवारले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गर्दै न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएको जनाएको छ ।
