हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बजारमा एलपी ग्यासको आपूर्ति व्यवस्थापनलाई सहज बनाउन उपभोक्ता र ग्यास व्यवसायीलाई लक्षित गर्दै विभिन्न निर्देशनसहित सूचना जारी गरेको छ। बुधबार जारी सूचनामा पछिल्ला केही दिनदेखि बजारमा ग्यास अभाव भएको भन्ने गुनासो आएपछि सरोकारवालासँग छलफल गरी आपूर्ति व्यवस्थापनलाई व्यवस्थित बनाउन आग्रह गरिएको हो।
प्रशासनका अनुसार विगतभन्दा बढी परिमाणमा ग्यास बजारमा उपलब्ध गराइए पनि अभावको गुनासो आइरहेकाले अभाव हुन नदिन सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।
सूचनामार्फत उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर सञ्चय नगर्न आग्रह गरिएको छ। साथै, कसैले ग्यास लुकाएको वा आवश्यकताभन्दा बढी भण्डारण गरेको जानकारी भए जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयलाई तत्काल जानकारी गराउन अनुरोध गरिएको छ।
त्यसैगरी, ग्यास विक्रेतालाई बिक्री–वितरणको विवरण पारदर्शी रूपमा राखी दैनिक रूपमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराउन निर्देशन दिइएको छ। उपभोक्ताले सिलिन्डर लिएर लाइनमा बसेपछि विक्रेताले नाम र सम्पर्क नम्बर टिपेर रोलक्रमअनुसार मात्रै ग्यास वितरण गर्नुपर्ने व्यवस्था गर्न पनि भनिएको छ।
प्रशासनले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गरेका उपभोक्तालाई ग्यास अभाव भएका छिमेकी उपभोक्तालाई उपलब्ध गराई सहयोग गर्नसमेत आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले ग्यासको अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा सर्वसाधारणलाई मर्का पर्ने कुनै पनि गतिविधि गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
