Search
Close this search box.

मनहरी खोलाले बगाउँदा कैलाशमा एक जना बेपत्ता, अर्का सकुशल

​हेटौंडा– मकवानपुरको कैलाश गाउँपालिकामा मनहरी खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । अर्का एक जना भने तैरिएर सकुशल बाहिरिन सफल भएका छन् ।

​बेपत्ता हुनेमा कैलाश गाउँपालिका–४, सिसैटाका ३२ वर्षीय अशोक प्रजा रहेका छन् । उनीसँगै रहेका २५ वर्षीय प्रकाश तामाङ भने खोलाबाट सकुशल निस्कन सफल भएको प्रहरीले जनाएको छ । ​प्रहरीका अनुसार साउन २० गते मंगलबार राति करिब ११ बजेको समयमा कालिकाटारबाट देउतीसतर्फ आफ्नो घर फर्किने क्रममा उनीहरूलाई मनहरी खोलाले बगाएको थियो ।

​घटनाबारे साउन २१ गते बिहान मात्र प्रहरी चौकी भार्तामा जानकारी प्राप्त भएकोमा प्रहरी चौकी चैनपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीसँगको समन्वयमा बेपत्ता प्रजाको खोजी कार्य तीव्र पारेको छ । ​घटनाबारे थप अनुसन्धान भइरहेको र बेपत्ताको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । ​मनसुन सक्रिय भएसँगै खोलानालामा पानीको बहाव बढेकाले यात्रा गर्दा सतर्कता अपनाउन प्रहरीले सर्वसाधारण नागरिकमा अनुरोध गरेको छ । ​बर्खाको समयमा पानीको बहाव नापेर मात्र खोला तर्न, रातिको समयमा अँध्यारोमा भरसक खोलानालाको बाटो प्रयोग नगर्न र मौसमको पूर्वअनुमान बुझेर मात्र यात्रा तय गर्न प्रहरीले अपिल गरेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan