Search
Close this search box.

हेटौंडामा पर्यटन वर्ष २०८३ सफल बनाउन ‘शून्य फोहोर’ महाअभियान

हेटौँडा । पर्यटन वर्ष २०८३ लाई सफल बनाउने तयारीस्वरूप हेटौँडा उपमहानगरपालिकाले नगरलाई स्वच्छ, हरियाली र फोहोरमुक्त बनाउने लक्ष्यसहित ‘शून्य फोहोर (जिरो वेस्ट)’ महाअभियान सुरु गर्ने भएको छ। अभियानका लागि उपमहानगरपालिकाले ३२ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उपमहानगरपालिकाले १९ औँ नगरसभाबाट पारित पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न टोल विकास संस्था नगर समन्वय समितिसँगको सहकार्यमा अभियान सञ्चालन गरिने जानकारी दिएको हो। ‘जाऔँ हेटौँडा, रमाऔँ हेटौँडा’ नारालाई व्यवहारमा उतार्दै सरसफाइलाई पर्यटन प्रवर्द्धनको पहिलो आधार बनाइने उपमहानगरपालिकाको योजना छ।

नगर प्रमुख मीनाकुमारी लामाले सरसफाइ एकदिने कार्यक्रम नभई नागरिकको जीवनशैलीसँग जोडिएको संस्कार भएकाले अभियान वर्षभर सञ्चालन हुने बताउनुभयो । उहाँले हेटौँडाको ढल व्यवस्थापन आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र आवश्यक प्रक्रिया पूरा गरी कार्यान्वयनमा लैजाने तयारी भइरहेको जानकारी दिनुभयो। प्रयोग भएको पानी प्रशोधन प्रणालीको योजना पनि तयार भइसकेको उहाँको भनाइ थियो।
लामाले वडा नम्बर १५ तथा वडा नम्बर ६ र ७ को सीमाक्षेत्रमा निर्माण हुने ल्यान्डफिल्ड साइटको डीपीआर तयार भइसकेको बताउँदै वातावरणीय प्रभाव मूल्याङ्कनका क्रममा स्थानीयको सुझाव समेटेर निर्माण प्रक्रिया अघि बढाइने स्पष्ट पार्नुभयो ।

उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेका अनुसार अब घर, विद्यालय र कार्यालयबाट निस्कने फोहोरलाई स्रोतमै कुहिने र नकुहिने गरी छुट्याउने व्यवस्था कडाइका साथ लागू गरिनेछ। नगरभित्र ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलामाथि कडाइका साथ प्रतिबन्ध लागू गरिने र व्यवसायिक प्रतिष्ठान तथा सार्वजनिक यातायातका साधनमा अनिवार्य रूपमा डस्टबिन राख्ने व्यवस्था गरिने उहाँले बताउनुभयो ।
अभियानअन्तर्गत विद्यालयमा ‘इको क्लब’ गठन, ‘प्लास्टिक बैंक’ अवधारणाको कार्यान्वयन, कम्पोस्ट मल उत्पादन प्रवर्द्धन, वृक्षारोपण, सार्वजनिक स्थलको नियमित सरसफाइ तथा उत्कृष्ट टोल र वडालाई सम्मान गर्ने कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ। विद्यालय तहमा ‘मेरो फोहोर, मेरो दायित्व’ कार्यक्रममार्फत सरसफाइ संस्कृतिको विकास गरिने उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाले अभियानको प्रारम्भिक कार्यतालिकासमेत सार्वजनिक गरेको छ। साउन २२ गते सरकारी कार्यालय तथा संघसंस्थामा, साउन २३ गते टोलस्तरमा र भदौ ५ गते विद्यालयहरूमा विशेष सरसफाइ अभियान सञ्चालन गरिनेछ।

पत्रकार सम्मेलनमा उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत टेकप्रसाद ओली, वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे लामा तथा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीलगायतको उपस्थिति थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan