हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ का घरबाट हराएका एक जना मानसिक अवस्था कमजोर व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरगढी–५ निवासी करिब ४० वर्षीय सुकलाल गोले बुधबार साँझ करिब ८ बजे घरमा कसैलाई जानकारी नदिई निस्किएका थिए। उनी घर नफर्किएपछि बिहीबार बिहान ७:४५ बजे उनका बुवा वीरबहादुर गोलेले अस्थायी प्रहरी पोस्ट धादिङमा हुलियासहित खोजतलासका लागि निवेदन दिएका थिए।
निवेदन प्राप्त भएपछि प्रहरी टोली खोजतलासमा खटिएको थियो। खोजी गर्ने क्रममा बिहीबार बिहान ११:०५ बजे घरदेखि करिब एक किलोमिटर पश्चिमतर्फ रहेको सामरी खोलामा सुकलाल पानीभित्र घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन्।
शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
पोस्टमार्टम सम्पन्न भएपछि शव मृतकका दाइ वीरबहादुर गोलेलाई जिम्मा लगाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
