हेटौँडा। मकवानपुरको मनहरी खोलामा बगेर बेपत्ता भएका कैलाश गाउँपालिका–४ सिसैटाका ३२ वर्षीय अशोक प्रजाको शव दुई दिनपछि फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरी गाउँपालिका–७ स्थित मनहरी पुलबाट करिब ३०० मिटर दक्षिणतर्फ मनहरी खोलाको बीच भागमा पानीको बहाव कम भएको स्थानमा शुक्रबार बिहान करिब ८ः३५ बजे उनको शव फेला परेको हो।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली खटिएर शवको पहिचान तथा घटनाबारे अनुसन्धान अघि बढाएको थियो। सो क्रममा मृतकका भाइ सुजन प्रजा चेपाङले बिहान ११ः३० बजे शव अशोक प्रजाको भएको सनाखत गरेका हुन्।
प्रहरीका अनुसार अशोक साउन २० गते राति करिब ११ बजे कालिटारबाट देउतिसस्थित घर जाने क्रममा मनहरी खोला तर्ने क्रममा बेपत्ता भएका थिए।
केही प्रतिक्रिया छ कि ?
