हेटौंडा- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, सेल्फी रोडस्थित सामुदायिक वनमा बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा महिलाको शव फेला परेको छ ।
शुक्रबार (आज) दिउँसो स्थानीयवासी च्याउ टिप्न जंगल पुगेका बेला सेतो बोरामा बाँधेर खाल्डोमा फालिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दिउँसो करिब १ः५० बजे घटनाबारे जानकारी प्राप्त भएको हो ।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन भएकाे थियाे ।
प्रहरीका अनुसार बोरा खोलेर हेर्दा करिब ३०/३२ वर्ष उमेरको जस्तो देखिने महिलाको शव फेला परेको हो । मृतकको नाम, थर र वतन भने खुल्न सकेको छैन ।
शव परीक्षणका लागि हेटौंडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ। शवको पहिचान तथा घटनाको कारण र संलग्न व्यक्तिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
