हेटौँडा । रोजगारी, शिक्षा, आर्थिक अवसर र सुरक्षित भविष्यको खोजीमा विदेशिने नेपालीमध्ये उतै स्थायी बसोबास गरी विदेशी नागरिकता लिने क्रम बढ्दै गएको देखिएको छ। मकवानपुरको पछिल्लो एक वर्षको तथ्याङ्कले पनि विदेशिने प्रवृत्तिको यही अर्को पाटो देखाएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार एक वर्षको अवधिमा ३४ जनाले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता प्रमाणपत्र परित्याग गरेका छन्। नागरिकता परित्याग गर्नेमा २३ जना पुरुष र ११ जना महिला छन्।
विदेशी नागरिकता लिएर नेपाली नागरिकता त्याग गर्नेमा अष्ट्रेलिया र अमेरिका जाने नेपालीको सङ्ख्या सबैभन्दा बढी रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ। अष्ट्रेलियाको नागरिकता प्राप्त गरेका १५ जना र अमेरिकाको नागरिकता लिएका ११ जनाले नेपाली नागरिकता परित्याग गरेका छन्।
त्यस्तै, बेलायतको नागरिकता प्राप्त गरेका दुई जनाले पनि नेपाली नागरिकता त्यागेका छन्। भारत, ताइवान, फिनल्यान्ड, पोर्चुगल, क्यानडा र जर्मनीको नागरिकता प्राप्त गरेका एक–एक जनाले समेत नेपाली नागरिकता परित्याग गरेका छन्।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका नायब सुब्बा गणेश नेपालीका अनुसार पछिल्लो एक वर्षमा विदेशी मुलुकको नागरिकता प्राप्त गरेका ३४ जनाले कार्यालयबाट नेपाली नागरिकता प्रमाणपत्र परित्याग गरेका हुन्।
नेपालबाट हरेक वर्ष ठूलो सङ्ख्यामा युवा तथा विद्यार्थी रोजगारी र अध्ययनका लागि विदेश जाने गरेका छन्। वैदेशिक रोजगारी, उच्च शिक्षा, राम्रो आम्दानी, जीवनशैली र भविष्यको सुरक्षालाई विदेश रोज्नुका प्रमुख कारणका रूपमा लिइन्छ।
तर विदेश जाने सबैको उद्देश्य केही वर्षपछि नेपाल फर्किने मात्र हुँदैन। अध्ययनका लागि विदेश पुगेका कतिपय त्यहीँ रोजगारीमा जोडिने, स्थायी बसोबासको अनुमति लिने र अन्ततः सम्बन्धित देशको नागरिकता प्राप्त गर्ने प्रक्रियामा अघि बढ्ने गरेका छन्।
मकवानपुरबाट नेपाली नागरिकता परित्याग गर्ने ३४ जनाको तथ्याङ्कले विदेश धेरैका लागि रोजगारी वा अध्ययनको गन्तव्यमा मात्र सीमित नरहेको देखाउँछ। उनीहरूले विदेशमै स्थायी भविष्य निर्माण गर्ने बाटो रोजेको देखिन्छ।
अष्ट्रेलिया र अमेरिका किन आकर्षणमा ?
मकवानपुरबाट नेपाली नागरिकता त्याग्नेको सूचीमा अष्ट्रेलिया र अमेरिका अग्रस्थानमा छन्। एक वर्षमा नागरिकता परित्याग गर्ने ३४ जनामध्ये १५ जना अष्ट्रेलिया र ११ जना अमेरिकाको नागरिकता प्राप्त गरेका व्यक्ति छन्। अर्थात् कुल नागरिकता परित्याग गर्नेको ७६ प्रतिशतभन्दा बढी हिस्सा यी दुई मुलुकसँग सम्बन्धित छ।
अष्ट्रेलिया नेपाली विद्यार्थी तथा आप्रवासीका लागि लामो समयदेखि प्रमुख गन्तव्यका रूपमा रहँदै आएको छ। अमेरिका पनि उच्च शिक्षा, रोजगारी र स्थायी बसोबासका अवसरका कारण नेपालीको रोजाइमा पर्ने मुलुक हो।
बेलायतसहित युरोपेली मुलुक र क्यानडातर्फ पनि नेपालीको आकर्षण देखिन्छ। मकवानपुरको तथ्याङ्कमा बेलायत, फिनल्यान्ड, पोर्चुगल, क्यानडा र जर्मनीको नागरिकता प्राप्त गरेका व्यक्तिहरू पनि छन्।
नागरिकता परित्याग गर्नेमा पुरुषको सङ्ख्या महिलाको तुलनामा उल्लेख्य रूपमा बढी छ। ३४ जनामध्ये २३ जना पुरुष र ११ जना महिला छन्।
पछिल्लो समय महिलाहरू पनि अध्ययन, रोजगारी तथा पारिवारिक बसाइँसराइका कारण विदेश जाने क्रम बढ्दो रहेकाले आगामी दिनमा यो अनुपातमा परिवर्तन आउन सक्ने देखिन्छ।
विदेश जाने र विदेशी नागरिकता लिने विषयलाई केवल व्यक्तिगत रोजाइका रूपमा मात्र हेरेर पुग्दैन। यससँग देशभित्र उपलब्ध रोजगारी, शिक्षा, आम्दानी, उद्यमशीलता र भविष्यप्रतिको विश्वाससमेत जोडिएको हुन्छ।
नेपालमा अवसरको अभाव महसुस गर्ने नागरिकले विदेशमा अवसर खोज्नु नयाँ विषय होइन। तर विदेश पुगेका नागरिकले उतै स्थायी भविष्य खोज्दै नेपाली नागरिकता नै परित्याग गर्न थालेपछि यसको सामाजिक तथा राष्ट्रिय प्रभावबारे बहस आवश्यक देखिन्छ।
एकातर्फ राज्यले दक्ष जनशक्ति उत्पादन गर्न ठूलो लगानी गरिरहेको छ भने अर्कोतर्फ त्यही जनशक्ति अध्ययन र रोजगारीका क्रममा विदेश पुगेर उतै स्थायी हुँदै गएको छ। यसले ‘ब्रेन ड्रेन’ अर्थात् दक्ष जनशक्ति पलायनको चुनौतीलाई थप गम्भीर बनाउने देखिन्छ।
मकवानपुरको एक वर्षको तथ्याङ्कले मात्रै देशव्यापी अवस्था मापन गर्न नसके पनि यसले महत्वपूर्ण संकेत भने गरेको छ।नेपालीहरू विदेश जाने मात्र होइन, विदेशमै आफ्नो स्थायी भविष्य खोज्दै विदेशी नागरिकता लिने क्रम पनि जारी छ।
