हेटौंडा । मकवानपुरमा पछिल्लो पाँच आर्थिक वर्षमा ४२ जनाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार अधिकांश हत्या चिनजानका व्यक्ति वा आफन्तबाट तत्कालको आवेगमा भएका छन् । घटनामा घरेलु हातहतियारको प्रयोग सबैभन्दा बढी भएको पाइएको छ ।
प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा १० जनाको हत्या भएको थियो। तीमध्ये ८ पुरुष, २ महिला तथा एक भारतीय नागरिक पुरुष रहेका थिए । आर्थिक वर्ष २०७९/८० मा ७ जनाको हत्या भएकोमा ६ पुरुष र १ महिला रहेका छन् ।
आर्थिक वर्ष २०८०/८१ मा ४ जनाको हत्या भएको थियो। तीमध्ये ३ पुरुष र १ महिला रहेका छन् । आर्थिक वर्ष २०८१/८२ मा १३ जनाको हत्या भएको प्रहरीको तथ्यांक छ। जसमध्ये ९ पुरुष र ४ महिला रहेका छन् ।
चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ८ जनाको हत्या भएको छ। जसमध्ये ६ पुरुष र २ महिला रहेका छन् । यी पाँच आर्थिक वर्षमा भएका ४२ हत्या घटनामा संलग्न ५७ जनालाई प्रहरीले पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना
अधिकारी डीएसपी माधवप्रसाद काफ्लेकाअनुसार अधिकांश हत्याका घटनामा घरेलु हातहतियारको प्रयोग भएको छ । धेरैजसो घटना तत्कालको आवेगमा हुने गरेका छन् भने पीडित र अभियुक्तबीच पहिलेदेखिको चिनजान वा आफन्तको सम्बन्ध रहेको पाइएको छ ।
उनले मदिरा सेवन र लागूऔषधको दुरुपयोगका कारण पनि हत्या हुने घटनाहरू उल्लेख्य रहेको बताउँदै यस्ता अपराध न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, पारिवारिक विवादको समयमै समाधान तथा मदिरा र लागूऔषधको दुरुपयोग नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।
