हेटौंडा । दुई दशकभन्दा लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा फेरि कपडा बुन्ने तान चल्न थालेका छन्। उद्योगका पुराना मेसिन तथा तान मर्मतसम्भार गरेपछि शनिबारबाट परीक्षण उत्पादन सुरु गरिएको हो।
नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका मेसिन र तानको मर्मत गरी परीक्षण उत्पादन थालिएको प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत उद्योगमा तान सञ्चालनमा आएको भिडियोसमेत सार्वजनिक गर्नुभएको छ ।
लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका मेसिन सञ्चालनमा आएपछि उद्योग परिसरमा कपडा बुन्ने तानको आवाज सुनिन थालेको छ। परीक्षणका क्रममा केही मात्रामा कपडा उत्पादनसमेत सुरु भएको प्रधानमन्त्री शाहले बताउनुभएको छ।
हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको हो। सेनाको नेतृत्वमा परीक्षण उत्पादनको चरण पूरा गरेपछि उद्योगलाई सरकारले नै सञ्चालन गर्ने तयारी गरेको बताइएको छ।
लामो समय बन्द रहँदा उद्योगका मेसिन, विद्युत् प्रणाली र भौतिक संरचना जीर्ण बनेका थिए। पछिल्लो समय उद्योग परिसरको सरसफाइ, विद्युत् प्रणालीको मर्मत तथा पुराना मेसिनको परीक्षण र मर्मतको काम अघि बढाइएको थियो।
उद्योग पुन सञ्चालनका लागि गठित अध्ययन कार्यदलले पनि सुरुमा परीक्षण उत्पादन गरेर त्यसको नतिजाका आधारमा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने सुझाव दिएको थियो। सरकारले गत असार १८ गते हेटौंडा कपडा उद्योग पुन सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको तयारी तीव्र पारिएको थियो।
चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०३२ सालमा स्थापना भएको हेटौंडा कपडा उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन थालेको थियो। विभिन्न कारणले सञ्चालन निरन्तर हुन नसकेपछि उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द छ।
उद्योग सञ्चालनका लागि यसअघि पनि पटकपटक प्रयास भएका थिए। २०७३ सालमा विस्तृत अध्ययन गर्न समिति गठन गरिएको थियो। त्यसपछि २०७५ सालमा तयार गरिएको अध्ययन प्रतिवेदनले उद्योग सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको थियो। सो अध्ययनमा उद्योग सञ्चालनका लागि करिब ३० करोड रुपैयाँ खर्च आवश्यक पर्ने उल्लेख गरिएको थियो।
२०७५ सालमै नेपाली सेनाको सहभागितामा समेत उद्योग पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गरिएको थियो। आर्थिक वर्ष २०८१/८२ को बजेटमा समेत उद्योगलाई सार्वजनिकनिजी साझेदारीको मोडालिटीमा सञ्चालनमा ल्याउने घोषणा गरिएको थियो।
यसपटक भने सरकारले नेपाली सेनालाई परीक्षण उत्पादनको जिम्मेवारी दिएर प्रक्रिया अघि बढाएको हो।
