हेटौंडा । हेटौंडा–५ स्थित सिँचाई टोलमा रहेको हाम्रो घर बालगृहको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। ग्रामीण जीवनस्तर सुधार मञ्च मकवानपुरद्वारा सञ्चालित बालगृहको साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी योजना सार्वजनिक गरिएको छ।
ग्रामीण जीवनस्तर सुधार मञ्च मकवानपुरकी अध्यक्ष इन्दिरा न्यौपानेको अध्यक्षतामा मंगलबार सम्पन्न साधारणसभामा समाजसेवी सीताराम बर्तौला प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ५ का जनप्रतिनिधि रामबहादुर राई, सिविन मकवानपुरका प्रबन्धक झबिन्द्र ज्ञवाली, अधिवक्ता उर्मिला सापकोटालगायत कार्यसमिति सदस्य तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
सभामा अध्यक्ष न्यौपानेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार ग्रामीण जीवनस्तर सुधार मञ्च मकवानपुरले विपन्न, असहाय, अनाथ तथा संरक्षणको आवश्यकता भएका बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ। आर्थिक वर्ष २०८२/८३ सम्म ७ जना बालबालिकाबाट सुरु गरिएको संरक्षण कार्यक्रममार्फत स्थापना कालदेखि हालसम्म १ सय १९ जना बालबालिकालाई संरक्षण तथा सेवा प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ।
संस्थाको ४३ कोठे भवनमा हाल २० जना बालबालिका संरक्षित छन्। संरक्षणमा रहेका केही बालबालिकालाई परिवारमा पुनःस्थापना गरिएको, केहीले १८ वर्ष उमेर पूरा गरी स्वावलम्बी बनेका तथा केही वैदेशिक रोजगारीमा समेत गएको जनाइएको छ।
संस्थाले बालबालिकालाई खानपान, बसोबास, शिक्षा, स्वास्थ्य उपचार तथा शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ। साथै बालगृहमा रहेका बालबालिकालाई सीपमूलक तालिम, उच्च शिक्षा तथा आत्मनिर्भर बनाउने कार्यक्रमलाई समेत प्राथमिकता दिइएको जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ मा स्थानीय वडा कार्यालय, गाउँपालिका, हेटौंडा उपमहानगरपालिकालगायत विभिन्न निकाय तथा व्यक्तिको सहयोगबाट बालबालिकाको खानपान, लत्ताकपडा तथा स्वास्थ्य उपचारमा २१ लाख ३५ हजार ६ सय ५ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।
यस्तै क्यामिना नेपालको सहयोगमा बालबालिकाको शैक्षिक कार्यक्रममा १२ लाख ३ हजार ३ सय ९२ रुपैयाँ, अक्षयकोष वृद्धिमा १ लाख ९ हजार ९ सय ९९ रुपैयाँ र बालगृह परिसरमा सरस्वती मन्दिर निर्माणका लागि ५ लाख रुपैयाँ खर्च भएको जनाइएको छ।
संस्थाले आगामी आर्थिक वर्षमा आवासीय दिगो बालगृह सञ्चालन, बाल स्वास्थ्य संरक्षण कोष स्थापना, बालबालिकालाई ऐतिहासिक तथा मनोरञ्जनात्मक स्थलको भ्रमण, बालअधिकार तथा चेतनामूलक तालिम र बालगृह परिसरमा निर्माणाधीन सरस्वती मन्दिर सम्पन्न गर्ने योजना अघि सारेको छ।
आगामी वर्ष आवासीय बालगृह सञ्चालनका लागि ४२ लाख ५ हजार रुपैयाँ तथा अक्षयकोष निर्माण र बाल स्वास्थ्य संरक्षण कोषका लागि १ करोड ७५ लाख रुपैयाँ आवश्यक पर्ने संस्थाले जनाएको छ। ऐतिहासिक तथा मनोरञ्जनात्मक स्थल भ्रमणका लागि १ लाख, बालअधिकार तथा चेतनामूलक तालिमका लागि १ लाख ५० हजार र सरस्वती मन्दिर निर्माण सम्पन्न गर्न १० लाख रुपैयाँ प्रस्ताव गरिएको छ।
अध्यक्ष न्यौपानेले विपन्न, असहाय, अनाथ तथा द्वन्द्वपीडित बालबालिकालाई संरक्षण, शिक्षा, सीप र आत्मनिर्भरतातर्फ अघि बढाउने उद्देश्यसहित संस्थाका कार्यक्रमलाई निरन्तरता दिइने बताइन्।
