हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–रजैयामा विगत १०/१२ दिनदेखि देखिएको नेपाल टेलिकमको मोबाइल नेटवर्क समस्या तीन दिनभित्र समाधान गर्ने प्रतिबद्धता जनाइएको छ।
रजैया आसपास क्षेत्रमा लामो समयदेखि मोबाइल नेटवर्कमा समस्या देखिएपछि स्थानीयवासीले गाउँपालिकामा गुनासो गर्दै आएका थिए।
गुनासोपछि गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बुधबार नेपाल टेलिकमका प्रतिनिधिसँग कार्यालयमै पुगेर नेटवर्क समस्याबारे छलफल गरेका छन्।
छलफलका क्रममा टेलिकमका प्रतिनिधिले रजैया क्षेत्रमा देखिएको नेटवर्क समस्या तीन दिनभित्र समाधान गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष कालाखेतीले जानकारी दिए।
समस्या समाधानका लागि टेलिकमले गरेको प्रतिबद्धता कार्यान्वयन नभएसम्म गाउँपालिकाले निरन्तर पहल र समन्वय गरिरहने अध्यक्ष कालाखेतीले बताए।
नागरिकले सहज र गुणस्तरीय सञ्चार सेवा पाउनु अधिकार भएको भन्दै उनले सेवा सुधारका लागि गाउँपालिका निरन्तर प्रतिबद्ध रहेको बताए।
