Search
Close this search box.

माइती नेपालमा एक वर्षमा घरेलु हिंसाका ७९ मुद्दा

हेटौँडा । मकवानपुरमा घरेलु हिंसा, बालविवाह तथा मानव बेचबिखनको जोखिम कायमै रहेको पाइएको छ। माइती नेपाल चेलीबेटी बेचबिखन रोकथाम गृह मकवानपुरमा आर्थिक वर्ष २०८२/८३ मा घरेलु हिंसाका ७९ वटा मुद्दा दर्ता भएका छन्।
दर्ता भएका मुद्दामध्ये ४६ वटा मिलापत्रमार्फत टुंग्याइएको र बाँकी मुद्दा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको माइती नेपाल मकवानपुरले जनाएको छ। संस्थाले सञ्चालन गरेको मानव बेचबिखनविरुद्ध एकीकृत कार्य परियोजनाको सामाजिक परीक्षणका क्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो।

माइती नेपाल मकवानपुर प्रमुख माया तामाङका अनुसार परियोजनाअन्तर्गत होटल तथा बार अनुगमन, घरदैलो अभियान, मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सचेतना, जीवनोपयोगी सीप तालिम र व्यवसाय सञ्चालनमा सहयोगलगायतका कार्यक्रम सञ्चालन गरिएको थियो।
भारत हुँदै घरेलु कामदारका रूपमा विदेश पुगेका दुई महिलालाई कुवेतबाट उद्धार गरी पारिवारिक पुनर्मिलन गराइएको संस्थाले जनाएको छ। यस्तै, आन्तरिक बेचबिखनको जोखिममा रहेका २७ नाबालिका र एक किशोरीलाई प्रहरी तथा सामुदायिक प्रहरीको समन्वयमा उद्धार गरी परिवारमा पुनर्मिलन गराइएको छ।

विभिन्न हिंसामा परेका ३८ नाबालिका र १४ बालिकालाई संरक्षणमा राखेर पारिवारिक पुनर्मिलन गराइएको छ। दुई बालिका भने अझै गृहमा रहेको जनाइएको छ।

खोजतलासका लागि १८ नाबालिका र आठ बालिकासम्बन्धी निवेदन दर्ता भएकोमा १० नाबालिका र तीन बालिका फेला परेका छन्। जबर्जस्ती करणीका मुद्दामा २० नाबालिका र नौ बालिकालाई न्यायिक प्रक्रियामा सहयोग गरिएको माइती नेपालले जनाएको छ।
गृहमा बालविवाहका तीनवटा मुद्दा दर्ता भएका थिए। तीनै घटनामा बालबालिकालाई अलग गराइएको तथा अर्को एक घटनालाई सम्बन्धित निकायमा पठाइएको जनाइएको छ।

परियोजनाअन्तर्गत एक हजार ८० जनालाई मानव बेचबिखन तथा ओसारपसार र सुरक्षित आप्रवासनसम्बन्धी जानकारी दिइएको छ। ६ हजार ५७० जनासम्म मानव बेचबिखनविरुद्ध सूचना प्रवाह गरिएको र दुई सय घरधुरीमा घरदैलो कार्यक्रम गरिएको संस्थाले जनाएको छ।

त्यस्तै, १२३ जनाले मनोसामाजिक परामर्श, २९ जनाले कानुनी परामर्श र दुई जनाले स्वास्थ्य परीक्षण सेवा पाएका छन्। ६० जनाले आधारभूत सिलाइ तथा आठ जनाले ब्युटिपार्लर तालिम लिएका छन्। उन्नत सिलाइ तालिम लिएका नौ जनाले व्यवसाय सञ्चालन गरिरहेको संस्थाको भनाइ छ।

जबर्जस्ती करणीबाट प्रभावित पाँच नाबालिकालाई थप संरक्षणका लागि हिरण्य नेपालमा पठाइएको छ। एक नाबालिकालाई ग्रामीण असहाय सामुदायिक पुनःस्थापना केन्द्र र एक महिलालाई प्रहरीको सहयोगमा मानव सेवा आश्रममा रिफर गरिएको छ।

माइती नेपालका अनुसार विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि मानव बेचबिखन तथा हिंसाका चुनौती घटेका छैनन्। भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा जाने क्रम बढ्नु, आफन्त तथा चिनजानकै व्यक्तिबाट हुने हिंसा र शोषण, बालविवाह तथा सामाजिक सञ्जालको दुरुपयोगले जोखिम थपिएको तामाङले बताइन् ।

विशेषगरी सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत हुने सम्पर्क र प्रलोभनका कारण बालबालिका तथा किशोरी बेचबिखन तथा शोषणको जोखिममा पर्न सक्ने अवस्था रहेको उनको भनाइ छ।

सामाजिक परीक्षण कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिना लामा, वडा नं. ४ की कार्यवाहक अध्यक्ष गीता त्रिपाठी, मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको जिल्ला सञ्जालकी अध्यक्ष आरती पाठक, गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटालगायतले सुझाव दिएका थिए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan