- कैलाश – मकवानपुरको कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा गरेको छ। बिहीबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अध्यक्ष मुक्तानले चालु आर्थिक वर्षमा योजना तथा कार्यक्रमलाई थप व्यवस्थित गर्दै तोकिएको समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिए। गत आर्थिक वर्षको भौतिक तथा वित्तीय प्रगतिभन्दा चालु आवमा प्रगति बढाउने गरी काम गर्नुपर्नेमा उनले जोड दिए।
विषयगत शाखाले वर्षभरि सञ्चालन गर्ने कार्यक्रम तथा योजनालाई भदौदेखि नै ‘ब्रेक डाउन’ गरी योजनाबद्ध रूपमा कार्यान्वयन गर्नुपर्ने अध्यक्ष मुक्तानले बताए। स्वास्थ्य, शिक्षा र पूर्वाधारतर्फ समयमै ठेक्का आह्वान गरी काम सुरु गर्नुपर्ने उनको भनाइ थियो।
शाखाका कर्मचारीसँगै वडा तहमा कार्यरत कर्मचारीले पनि सेवा प्रवाहमा कुनै कन्जुस्याइँ नगरी प्रभावकारी रूपमा काम गर्नुपर्ने उनले बताए। गाउँपालिकाको सामाजिक तथा भौतिक विकासका लागि सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको अध्यक्ष मुक्तानको भनाइ थियो।
समीक्षा कार्यक्रममा विभिन्न शाखाका प्रमुख तथा वडा सचिवले वार्षिक प्रगति, समस्या र चुनौती प्रस्तुत गरेका थिए। राजस्व शाखाका अनुसार आव २०८२/८३ मा गाउँपालिकाले १ करोड ७५ लाख २७ हजार ७ सय ९ रुपैयाँ राजस्व संकलन गरेको छ। १० वटा वडाबाट मात्रै ३२ लाख ७९ हजार ६ सय ३३ रुपैयाँ राजस्व संकलन भएको छ। वडागत रूपमा सबैभन्दा बढी राजस्व वडा नम्बर १० ले संकलन गरेको छ।
आर्थिक प्रशासन शाखाका अनुसार गाउँपालिकाले चालुतर्फ २९ करोड ६ लाख ५४ हजार ३ सय ३७ रुपैयाँ र पुँजीगततर्फ १६ करोड ७६ लाख ५६ हजार ५ सय ४२ रुपैयाँ खर्च गरेको छ। क्षेत्रगत रूपमा आर्थिक विकासमा ५९.५१ प्रतिशत, सामाजिक विकासमा ८४.४९ प्रतिशत, पूर्वाधार विकासमा ७०.९ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ४४.५१ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ८३.३३ प्रतिशत खर्च भएको लेखा प्रमुख टिकाराम अधिकारीले जानकारी दिए।
योजना शाखाका प्रमुख दीपेन्द्र अधिकारीका अनुसार उपभोक्ता समितिमार्फत सञ्चालन हुने २०२ योजनामध्ये १८७ वटा सम्झौता भई भुक्तानीसमेत भएको छ। तीमध्ये सबैभन्दा धेरै योजना वडा नम्बर १० मा रहेका छन्।
पूर्वाधार विकास शाखाका प्रमुख अनिलप्रसाद जोशीका अनुसार उपभोक्ता समितिमार्फत गाउँपालिकाभित्र करिब ३१.५ किलोमिटर नयाँ सडक ट्र्याक खोलिएको छ। यस्तै, ८९ किलोमिटर पुरानो सडक ट्र्याक सुधार, ६०४ मिटर पक्की नाला, ७३० मिटर स्ल्याब ढलान, ८७५ घनमिटर मेसनरी पर्खाल, ७१६ मिटर ग्याबिन जाली र करिब २ किलोमिटर ग्राभेल गरिएको छ।
शिक्षा शाखाका प्रमुख समीर जोशीका अनुसार गाउँपालिकाको कुल साक्षरता दर ६७.८ प्रतिशत छ। पुरुषको साक्षरता दर ७३.३ प्रतिशत र महिलाको ६२.२ प्रतिशत रहेको छ। शिक्षा क्षेत्रमा क्रमिक सुधार भइरहे पनि केही शैक्षिक सूचक घट्दो क्रममा रहेको उनले बताए। अभिभावकमा पर्याप्त चेतना नहुँदा विद्यालयमा विद्यार्थीको उपस्थितिदर कम देखिएको उनको भनाइ छ।
स्वास्थ्य शाखाले करिब २२ हजार जनसंख्यालाई लक्षित गरी सेवा प्रवाह गरेको जनाएको छ। शाखाले आव २०८२/८३ मा ८८ प्रतिशत कार्यक्रम खर्च गरेको छ। महिला तथा बालबालिका शाखातर्फ प्रदेशस्तरीय कार्यक्रममा ४६ प्रतिशत र गाउँपालिकातर्फ ८८ प्रतिशत खर्च भएको जनाइएको छ।
सूचना प्रविधितर्फ एलजीपासमा गाउँपालिकाले ५७.४१ प्रतिशत प्रगति गरेको छ। एक वर्षको अवधिमा गाउँपालिकामा ७२० जनाको जन्म र १९३ जनाको मृत्यु भएको छ भने २११ जना बसाइँ सरेर गएको तथ्यांक प्रस्तुत गरिएको छ। कृषि शाखामार्फत किसान लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरिएको र किसान समूह तथा फर्मले आवश्यक कार्यक्रम लिएर कार्यान्वयन गरेको जनाइएको छ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सीताकुमारी खत्री, वडा नम्बर ३ का अध्यक्ष देवलाल बल, वडा नम्बर ७ का अध्यक्ष उदासकुमार ब्लोन, वडा नम्बर १० का अध्यक्ष सूर्यबहादुर ब्लोनलगायतको आतिथ्यता थियो। कार्यक्रममा गाउँपालिकाका शाखा प्रमुख, वडा सचिव तथा सामाजिक परिचालकहरूको सहभागिता थियो।
