हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा धारिलो हतियार प्रहारबाट चार जना घाइते भएका छन्। शुक्रबार बिहान करिब ११ः२० बजे गाडी पार्किङको विषयलाई लिएर भएको विवादपछि घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार मनहरी गाउँपालिका–१ मकरी बस्ने ३० वर्षीय लक्ष्मण बर्तौला र अन्य व्यक्तिबीच गाडी पार्किङको विषयलाई लिएर झैझगडा भएको थियो। विवादपछि बर्तौलाले अन्य व्यक्तिहरूलाई बोलाई धारिलो हतियार प्रहार गरी चार जनालाई घाइते बनाएर फरार भएको प्रहरीले जनाएको छ।
घटना लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर खोजतलास सुरु गरेको थियो। प्रहरीले बर्तौलालाई शुक्रबार साँझ पक्राउ गरेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घाइतेमध्ये मनहरी गाउँपालिका–६ का २७ वर्षीय जीवन गोलेको ढाडमा चोट लागेको छ। उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। ओखलढुङ्गाको सिंहदेवी गाउँपालिका–७ का २८ वर्षीय राइज आले मगरको पनि ढाडमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको छ।
त्यस्तै चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका करिब ३२ वर्षीय रामबहादुर पाख्रीनको छाती तथा ढाडको पछाडिको भागमा चोट लागेको छ। उनको सीएमसी हेटौंडा अस्पतालमा उपचार भइरहेको छ र अवस्था मध्यम रहेको छ।
चितवनको राप्ती नगरपालिका–४ डडुवाका २८ वर्षीय जीवन तामाङको दाहिने आँखामा भित्री चोट लागेको छ। उनको पनि सीएमसी हेटौंडा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
