Search
Close this search box.

हेटौंडामा धारिलो हतियार प्रहारबाट चार जना घाइते, चार जना पक्राउ

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा गाडी पार्किङको विषयलाई लिएर भएको विवादमा धारिलो हतियार प्रहार हुँदा चार जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार बिहान करिब ११ः३० बजे मनहरी गाउँपालिका–१ मकरीका ३० वर्षीय लक्ष्मण बर्तौला र अन्य व्यक्तिबीच गाडी पार्किङको विषयलाई लिएर विवाद भएको थियो। विवादपछि बर्तौलाले अन्य व्यक्तिहरूलाई बोलाई धारिलो हतियार प्रहार गर्दा चार जना घाइते भएका हुन्।

घटनाको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर, प्रहरी चौकी बसपार्क र वडा प्रहरी कार्यालय सानोपोखराबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भमा फरार रहेका बर्तौलालाई प्रहरीले खोजतलास गरी नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा थप तीन जनालाई समेत नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा मनहरी गाउँपालिका–१ मकरीका लक्ष्मण बर्तौला, हेटौंडा–१२ पदमपोखरीका ३३ वर्षीय सुनिल थिङ, हेटौंडा–१५ भोर्लेका २८ वर्षीय करन लामा र मनहरी–१ मकरीका २३ वर्षीय उज्ज्वल बर्तौला रहेका छन्।

घाइते हुनेमा मनहरी गाउँपालिका–६ का २७ वर्षीय जीवन गोलेको ढाडमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ। त्यस्तै ओखलढुंगाको सिंहदेवी गाउँपालिका–७ का २८ वर्षीय राइज आले मगरको ढाडमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका ३२ वर्षीय रामबहादुर पाख्रीनको छाती तथा ढाडको पछाडिको भागमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ। राप्ती नगरपालिका–४ डडुवाका २८ वर्षीय जीवन तामाङको दाहिने आँखामा भित्री चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
चारै जना घाइतेको हेटौंडामा उपचार भइरहेकोमा शुक्रबार राति करिब ९ः१५ बजे थप उपचारका लागि चितवनतर्फ पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan