हेटौँडा । मकवानपुरमा एचआईभी संक्रमणको अवस्था अझै चुनौतीपूर्ण देखिएको छ। आर्थिक वर्ष २०८२/०८३ मा जिल्लामा ३१ जना नयाँ एचआईभी संक्रमित थपिएका छन्। यसअघि संक्रमण पुष्टि भई उपचार तथा नियमित औषधि सेवन गरिरहेका संक्रमितको संख्यामा नयाँ संक्रमित थपिएका हुन्।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ९ हजार ५ सय ५९ जनाको एचआईभी परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ४० जनामा संक्रमण पुष्टि भएको थियो। त्यसको अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा भने ७ सय ६७ जनाको रगत परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको थियो।
पछिल्ला वर्षमा एचआईभी परीक्षणको दायरा विस्तार गरिँदै गएपछि संक्रमण भएका व्यक्तिको पहिचानसमेत बढ्दै गएको स्वास्थ्यकर्मीहरूको भनाइ छ। जोखिममा रहेका समूहसँगै गर्भवती महिलाको परीक्षणलाई प्राथमिकता दिइँदा समुदायमा लुकेर रहेका संक्रमण पहिचान गर्न सहज भएको छ।
मकवानपुरमा एचआईभी संक्रमितका लागि उपचार तथा औषधि उपलब्ध गराउने काम हेटौँडा अस्पतालस्थित एआरटी सेन्टरबाट हुँदै आएको छ। सन् २०१२ देखि जनरल वेलफेयर प्रतिष्ठान तथा एड्स हेल्थकेयर फाउन्डेसनको सहकार्यमा सेन्टर सञ्चालनमा छ।
एआरटी सेन्टरमार्फत संक्रमितलाई नियमित औषधि वितरणसँगै उपचार र परामर्श प्रदान हुँदै आएको छ। एचआईभी नियन्त्रणका लागि प्रयोग हुने ‘टीएलडी’ औषधि नियमित सेवन गर्दा शरीरमा भाइरसको मात्रा नियन्त्रणमा राख्न र प्रतिरक्षा प्रणालीलाई जोगाउन सहयोग पुग्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।
सेन्टरका अनुसार अघिल्लो वर्षसम्म जिल्लामा ३ सय ६१ जना एचआईभी संक्रमित रहेकोमा ३ सय २८ जनाले नियमित रूपमा टीएलडी औषधि सेवन गरिरहेका थिए। हालसम्म जिल्लामा ५ सय ९३ जनामा एचआईभी संक्रमण पुष्टि भएको तथ्यांक छ। तीमध्ये ३ सय ३८ जना नियमित औषधि सेवनमा रहेको र ५० जनाको मृत्यु भइसकेको सेन्टरले जनाएको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार एचआईभी संक्रमण पुष्टि हुनु जीवनको अन्त्य होइन। समयमै संक्रमण पहिचान गरी चिकित्सकको सल्लाहअनुसार औषधि नियमित सेवन गरेमा संक्रमितले दीर्घकालीन रूपमा सामान्य जीवन बिताउन सक्ने अवस्था बनेको छ।
मकवानपुरमा एचआईभी संक्रमण नियन्त्रणका लागि गर्भवती महिलाको परीक्षणलाई विशेष प्राथमिकता दिइएको छ। जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार अघिल्लो आर्थिक वर्षमा जिल्लामा दुई जना गर्भवती महिलामा एचआईभी संक्रमण पुष्टि भएको थियो।
गर्भवती आमामा संक्रमण भए पनि समयमै पहिचान गरी आवश्यक उपचार र सावधानी अपनाउन सके बच्चामा संक्रमण सर्नबाट रोक्न सकिने भएकाले गर्भावस्थामा एचआईभी परीक्षणलाई अनिवार्य गरिएको घिमिरेले बताउनुभयो।
यसले आमाको स्वास्थ्यसँगै जन्मिने बच्चालाई संक्रमणबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्य कार्यालयको भनाइ छ।
मकवानपुरमा एचआईभीसम्बन्धी काम गर्ने विभिन्न गैरसरकारी संघसंस्थाको समन्वयमा जोखिममा रहेका समूहमा परीक्षण अभियान सञ्चालन हुँदै आएको छ। हेटौँडासहित राजमार्ग क्षेत्रमा रहेका यौनकर्मी तथा उनीहरूका ग्राहकको आकस्मिक रगत परीक्षण गर्ने गरिएको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार संक्रमणको जोखिम भएका व्यक्तिले समयमै परीक्षण गराउनु नै रोकथामको महत्वपूर्ण उपाय हो। संक्रमण भए/नभएको थाहा नहुँदा उपचारमा ढिलाइ हुनुका साथै संक्रमण फैलिने जोखिमसमेत बढ्न सक्छ।
एचआईभी संक्रमण रगतबाट पनि सर्न सक्ने भएकाले रक्तदानपछि रगतको आवश्यक परीक्षण गरेर मात्र प्रयोगमा ल्याउने गरिएको छ। परीक्षण नगरी संक्रमित रगत प्रयोग गर्दा संक्रमण सर्न सक्ने जोखिमलाई ध्यान दिँदै रक्तसञ्चार सेवामा परीक्षणलाई अनिवार्यजस्तै बनाइएको स्वास्थ्यकर्मीहरू बताउँछन्।
एचआईभी नियन्त्रणमा परीक्षण, सुरक्षित रगत, सुरक्षित यौन व्यवहार र समयमै उपचार महत्वपूर्ण मानिन्छन्। त्यससँगै संक्रमित व्यक्तिलाई उपचारमा निरन्तर जोडिराख्नु पनि उत्तिकै आवश्यक हुन्छ।
मकवानपुरमा एचआईभी परीक्षण र उपचारको पहुँच विस्तार हुँदै गए पनि संक्रमितप्रतिको सामाजिक दृष्टिकोण अझै चुनौतीपूर्ण रहेको स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूको भनाइ छ।
एचआईभीबारे समाजमा रहेको भ्रम, अन्धविश्वास र गलत धारणाका कारण संक्रमित व्यक्तिले आफ्नो पहिचान लुकाउनुपर्ने अवस्था अझै रहेको बताइन्छ। आफूलाई परिवार, साथीभाइ वा समाजबाट तिरस्कार हुने डरले कतिपय संक्रमित खुलेर आफ्नो अवस्थाबारे बोल्न चाहँदैनन्।
एचआईभी सामान्य सामाजिक सम्पर्कबाट सर्ने रोग नभए पनि संक्रमितप्रति गरिने विभेदले उनीहरूलाई मानसिक र सामाजिक रूपमा थप कठिनाइमा पार्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन्। त्यसैले संक्रमण नियन्त्रणसँगै समाजमा रहेको भ्रम र विभेद हटाउन सचेतना अभियानलाई पनि निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको छ।
दुई दशकअघिसम्म एचआईभी संक्रमणलाई उपचारको अभावका कारण निकै भयावह रूपमा हेरिन्थ्यो। नेपालमा सन् २००४ देखि एचआईभीविरुद्धको औषधि वितरण सुरु भएपछि भने उपचारको अवस्था क्रमशः सहज बन्दै गएको छ।
नियमित औषधि सेवनले शरीरमा एचआईभी भाइरसको मात्रा नियन्त्रणमा राख्न सहयोग गर्ने भएकाले संक्रमण पुष्टि भएका व्यक्तिले उपचार छाड्नुको सट्टा नियमित स्वास्थ्य परीक्षण र औषधि सेवनमा ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ।
मकवानपुरमा एक वर्षमा ३१ जना नयाँ संक्रमित थपिनुले एचआईभी नियन्त्रणका लागि परीक्षणको पहुँचसँगै रोकथाम, सचेतना र उपचारलाई अझ प्रभावकारी बनाउनुपर्ने देखाएको छ। संक्रमितको संख्या पहिचान हुनु आफैंमा समस्या मात्र नभई लुकेर रहेका संक्रमणलाई उपचारको दायरामा ल्याउने अवसर पनि भएकाले नियमित परीक्षण र सहज उपचार सेवामा जोड दिनुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।
हिटाबाट
