हेटौंडा । मृत्युपछि आँखाको नानी दान गर्ने अभियानप्रति हेटौंडामा आकर्षण बढ्दै गएको छ। सामुदायिक आँखा अस्पताल हेटौंडामा हालसम्म १ हजार २ सय ९८ जनाले मृत्युपछि आँखाको नानी दान गर्ने प्रतिबद्धतासहित नाम दर्ता गराएका छन्।
तिलगंगा आँखा प्रतिष्ठानको नेपाल आँखा कार्यक्रमअन्तर्गत सञ्चालन हुँदै आएको आँखाको नानी दान अभियानमा सहभागी हुन उनीहरूले अस्पतालमा नाम दर्ता गराएका हुन्। अस्पताल प्रशासन तथा लेखा अधिकृत उमेश महतका अनुसार नाम दर्ता गराउनेमा अधिकांश शिक्षित तथा विभिन्न औपचारिक र सामाजिक क्षेत्रमा आबद्ध व्यक्तिहरू छन्।
तर अस्पताल स्थापना भएको १७ वर्ष बितिसक्दा पनि नाम दर्ता गराएका व्यक्तिमध्ये कति जनाको मृत्युपछि आँखाको नानी संकलन गरियो भन्ने यकिन तथ्यांक भने अस्पतालसँग छैन।
महतका अनुसार करिब डेढ वर्षदेखि अस्पतालमा नानी दानका लागि नयाँ नाम दर्ता गर्ने कार्य रोकिएको थियो। यद्यपि अभियानलाई थप व्यवस्थित र व्यवहारिक बनाउने तयारीसँगै पुन नाम दर्ता सुरु गर्ने योजना बनाइएको छ। दुई दिनअघि मात्रै १० जनाले आँखाको नानी दान गर्ने इच्छा व्यक्त गरेकाले उनीहरूको नामसमेत दर्ता गर्ने तयारी भइरहेको उनले बताए।
चिकित्सकहरूका अनुसार नाम दर्ता गराए पनि मृत्युपछि परिवारलाई त्यसबारे जानकारी नहुँदा वा परिवारको अनुमति नपाउँदा कतिपय अवस्थामा नानी संकलन गर्न कठिन हुने गरेको छ। नानी दान गर्दा अर्को जन्ममा दृष्टिविहीन हुनेलगायतका भ्रम र अन्धविश्वासका कारण पनि परिवारबाट अनुमति नपाउने अवस्था रहेको चिकित्सकहरूको अनुभव छ। पछिल्लो समय भने यस्ता भ्रम क्रमशः कम हुँदै गएको उनीहरू बताउँछन्।
नेपालमा मरणोपरान्त आँखाको नानी दान तथा प्रत्यारोपण सेवा वि.सं. २०५१ भदौ ३१ गतेदेखि सुरु भएको हो। तिलगंगा आँखा प्रतिष्ठानमा नेपाल आँखा बैंक स्थापना भएपछि यो सेवा औपचारिक रूपमा अघि बढेको थियो। नेपालमा पहिलोपटक मरणोपरान्त दुवै आँखाको नानी दान गर्ने पहिलो महिला काठमाडौंकी चिनिमाया तुलाधर रहेको जनाइएको छ।
सुरुवाती वर्ष सन् १९९४ मा दुई वटा मात्र आँखाको नानी संकलन भएकोमा जनचेतना बढ्दै गएसँगै दाता संख्या पनि बढ्दै गएको छ। नेपाल आँखा बैंकका अनुसार हालसम्म १० हजारभन्दा बढी दृष्टिविहीन नेपालीले दानबाट प्राप्त नानी प्रत्यारोपणमार्फत दृष्टि पाइसकेका छन्। तीमध्ये ८ हजारभन्दा बढी नानी नेपाली दाताबाट प्राप्त भएका हुन्।
चिकित्सकका अनुसार मृत्यु भएको सामान्यतया ४ देखि ८ घण्टाभित्र आँखाको नानी संकलन गरिसक्नुपर्छ। आँखा दान गर्दा पूरै आँखाको डल्लो निकालिने नभई आँखाको अगाडिको पारदर्शी भाग अर्थात् कोर्निया मात्र संकलन गरिन्छ।
एक व्यक्तिले दान गरेको दुई आँखाका नानीबाट दुई जनासम्म दृष्टिविहीनले दृष्टि पाउन सक्छन्। पछिल्लो प्रविधिबाट एउटा नानीलाई विभिन्न तहमा विभाजन गरी प्रत्यारोपण गर्न सकिने भएकाले आवश्यकताअनुसार एउटै नानीबाट थप व्यक्तिलाई समेत लाभ पुग्न सक्ने अस्पतालले जनाएको छ।
नेपाल आँखा बैंकले काठमाडौंको पशुपति आर्यघाट, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताललगायत विभिन्न स्थान तथा मोफसलका केन्द्रबाट समेत आँखाको नानी संकलन गर्दै आएको छ।
